• १५ वैशाख २०८१, शनिबार

लुम्बिनी र गण्डकी विजयी

blog

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : क्यान

काठमाडौं, मंसिर १५ गते । लुम्बिनी र गण्डकी प्रदेशले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार जित निकालेका छन् । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले प्रदेश–१ लाई ६ विकेटले हरायो ।

लुम्बिनीको यो लगातार चौथो जित हो । लुम्बिनीसँग हारेसँगै प्रदेश–१ प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश–१ ले दिएको ७० रनको विजयी लक्ष्य लुम्बिनीले १६ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २६.२ ओभरमा सबै विकेटको क्षतिमा ६९ रन मात्र बनाएको थियो । 

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई एक सय नौ रनले हरायो । गण्डकीको यो पहिलो जित हो । जितका लागि गण्डकीले दिएको दुई सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा सबै विकेटको क्षतिमा एक सय २५ रनमा समेटिएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ३४ रन बनाएको थियो । सात प्रदेशको सहभागिता रहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । 

सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै म्यान अफ दि सिरिजलाई १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।