• १७ माघ २०७९, मङ्गलबार

सन्दर्भ : विश्व एड्स दिवस

सङ्क्रमितको सङ्ख्या २१ वर्षमा ८४ प्रतिशतले घट्यो

blog

काठमाडौं, मङ्सिर १५ गते । एचआईभी सङ्क्रमितको सङ्ख्या २१ वर्षमा ८४ प्रतिशतले घटेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सन् २०२१ मा ६८० नयाँ सङ्क्रमित थपिएको अनुमान गरेको छ । यो सन् २००० को तुलनामा ८४ प्रतिशतले कमी हो । सोही समयमा चार हजार ३७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा एचआईभी सङ्क्रमणदर वयस्क जनसङ्ख्याको ०.१२ प्रतिशत छ । 

त्यस्तै, २००७ को तुलनामा सङ्क्रमितको मृत्युदर पनि ७१ प्रतिशले घटाएको छ । २००७ मा एक हजार ७६५ जनाको मृत्यु भएकोमा अहिले घटाएर ५१० मा पुगेको छ ।  १४ वर्ष मुनिका बालबालिकाको सङ्क्रमणदर पनि २०१० को तुलनामा ७९ प्रतिशतले घटेको छ । 

उपचार नभएका २८ प्रतिशत

नेपालमा हरेक दिन दुई जनामा एचआईभी भाइरसबाट सङ्क्रमित हुन्छन् । नेपालमा अहिलेसम्म ३० हजार जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको छ  । 

२१ हजार ७२३ सङ्क्रमित एन्टीरेटोभाइरल (एआरभी) अर्थात् ७२ प्रतिशत सङ्क्रमित उपचारको दायरामा छन् । 

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले समाजमा भेदभाव हुने डरले २८ प्रतिशत सङ्क्रमित उपचारको दायरामा नआएको बताउनुहुन्छ ।

सरकारले एड्स २०३० सम्ममा अन्त्य गर्ने लक्ष्य लिएको छ । सरकारसँग २८ प्रतिशत सङ्क्रमित उपचारको दायरा नआउँदा रोग नियन्त्रण थप चुनौती थपिएको उहाँले उल्लेख गर्नुभयो । 

एचआईभी भनेको के हो ?

चिकित्सकका अनुसार एचआइभी एड्स यौन सङ्क्रमित रोग हो । जथाभाबी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् । तर यो भाइरस सङ्क्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभएर निर्मलीकरण नगरिएका सुइँको प्रयोगबाट , र्‍यालबाट, शरीरका अङ्गहरू प्रत्यारोपन गर्दा यो रोग सर्ने गर्छ । 

यो भाइरस मानिसको शरीरमा प्रवेश गरेमा यसले शरीरलाई कमजोर बनाउँदै लैजान्छ र रोगसँग लड्ने क्षमतामा कमी ल्याउँछ । चिकित्सकका अनुसार एचआईभी अन्य सङ्क्रमण जस्तै औषधि खाएमा पूर्ण निको हुन्छ । 

जोखिम समूह 

नेपालमा एचआईभी सङ्क्रमणको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गीहरू र रोजगारीका लागि बिदेसिने मानिसहरू रहेका डा. देवकोटा बताउनुहुन्छ । 

सन् २०२० मा सम्पन राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरूमा तीन प्रतिशतका दरले एचआइभीको सङ्क्रमण रहेको छ । यसैगरी सन् २०१७/२०१८ मा भएका सर्वेक्षणअनुसार महिला यौनकर्मीहरूमा २.२ प्रतिशत र पुरुष समलिङ्गीहरूमा ६.२ प्रतिशतमा सङ्क्रमण देखिएको थियो ।  

देवकोटाका अनुसार प्रदेश १, लुम्बिनी तथा सुदूरपश्चिमका जिल्लाहरूमा गरिएको सर्वेक्षणले भारतमा रहेका नेपाली कामदारमा एक प्रतिशतभन्दा कममा सङ्क्रमण पाइएको थियो ।

सङ्क्रमित आमाबाट जन्मिएका बच्चामा सङ्क्रमण हुन्छ ? 

केन्द्रकी निर्देशक डा. देवकोटाले एचआईभी सङ्क्रमित आमाबाट जन्मिएका बच्चामा एचआईभी सङ्क्रमण न्यून हुने जानकारी दिनुभयो । 

उहाँ भन्नुहुन्छ, “सङ्क्रमित महिलाले आमा बन्न चाहेमा जाँच गरेर भाइरस लोड नियन्त्रणमा राखेर चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा बच्चा जन्माउँदा जन्मिने बच्चामा सङ्क्रमण हुँदैन ।”

डा. देवकोटाका अनुसार यदि बच्चा पेटमा आइसकेपछि सङ्क्रमित भएको थाहा पाएमा चिकित्सकको निगरानीमा बसेर औषधि खाएमा बच्चामा सङ्क्रमण हुने सम्भावना दुई प्रतिशत हुन्छ । 

एसिया एचआईभी र एड्सको अवस्था

सन् २०२१ को अन्तसम्म एसियामा ६० लाखमा एचआईभी भाइरसको सङ्क्रमण पुष्टि भएको अनुमान छ । कुल एचआईभी सङ्क्रमित मध्ये ६६ प्रतिशत (३९ लाख ६० हजार ) उपचाररत छन् । 

सन् २०२१ मात्रै दुई लाख ६० हजार नयाँ सङ्क्रमण भएको अनुमान छ भने १४ हजार बच्चाहरूमा नयाँ सङ्क्रमण भएको अनुमान छ । सोही समय एक लाख ४० हजार व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान छ । 

विश्वमा एचआईभी र एड्सको अवस्था

विश्वमा हरेक दिन चार हजार मानिसहरू एचआईभी सङ्क्रमित हुन्छन् । सन् २०२१ मा  विश्वमा १५ लाख नयाँ सङ्क्रमण भएको अनुमान छ । सन् २०२१ मा मात्रै करिब ६ लाख ५० हजार व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको छ ।

 सन् २०२१ को अन्त्यसम्म आठ करोड ४२ लाख व्यक्ति एचआईभीबाट सङ्क्रमित भइसकेका छन् सङ्क्रमित मध्ये तीन करोड ८४ लाखमध्ये ७५ प्रतिशत (दुई करोड ८७ लाख ) मात्र एन्टीरेट्रोभाईरल (एआरभी) उपचारमा  छन् । सोही समय चार करोड १० लाख सङ्क्रमितको मृत्यु भइसकेको छ । विश्वमा सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित भेटिएका थिए । 

सङ्क्रमण नियन्त्रण गर्न केन्द्रले के गर्दैछ ?

दिगो विकास लक्ष्य सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल ९५ प्रतिशत एचआईभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरू मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसका भार (भाइरस लोड) न्यून भएको हुने र एचआइभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभी तथा एड्ससम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ ।

सरकारले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टीरेट्रोभाइरस उपचार निःशुल्क उपलब्ध गराएको छ । केन्द्रका अनुसार सन् २०२१ मा नेपालमा एक करोड ७५ लाख अमेरिकी डलर राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको थियो ।

कुल खर्चमा नेपाल सरकारको लगानी २४ प्रतिशत रहेको केन्द्रले जनाएको छ । आज विश्व एड्स दिवस ३५ औँ विश्व एड्स दिवस एड्स अन्त्यका लागि समानताको सुनिश्चितताको नाराका साथ मनाइँदैछ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।