• १६ चैत २०८०, शुक्रबार

मोरोक्को नकआउट पुग्ने सम्भावना बलियो

blog

दोहा, मङ्सिर १५ गते। सन् १९८६ पछि मोरोक्को पहिलो पटक विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणको नजिक रहेको छ। मोरोक्कोले आफ्नो समूहको अन्तिम खेलमा क्यानडाविरुद्ध खेल्दै छ। 

विश्वकप छनोटमा आफ्नो क्षेत्रमा मेक्सिको र अमेरिकाभन्दा पनि अगाडि रहेर कतार आएको क्यानडाले यस विश्वकपमा सो लयलाई भने दोहो¥याउन सकेन। क्यानडा सुरुका दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिसकेको छ। यद्यपि उसले अन्तिम खेलमा जित हासिल गरेर मोरोक्कोको प्रिक्वाटरफाइनलमा पुग्ने अभियान चकनाचुर पार्न सक्छ। आगामी संस्करण क्यानडाले अमेरिका र मेक्सिकोसँग संयुक्त रूपमा आयोजना गर्दै छ। त्यसैले पनि क्यानडा जितसहित अर्को संस्करणमा खेल्ने दाउमा रहेको छ।

अरब देश भएकाले कतारमा अपार समर्थन पाएको मोरोक्कोलाई क्यानडाविरुद्ध बराबरीले पनि नकआउट चरणमा पु¥याउनेछ। क्यानडाविरुद्ध हारले पनि मोरोक्कोलाई अगाडि बढाउन सक्छ। यद्यपि त्यसो भएमा उसले बेल्जियम र क्रोएसियाबीचको खेलमा आफूअनुकूल नतिजाको कामना गर्नुपर्ने हुन्छ। पहिलो खेलमा गत उपविजेता क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको मोरोक्कोले दोस्रो खेलमा फिफा विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई २–० ले स्तब्ध पारेको थियो। सो खेलमा मोरोक्कोका लागि रोमेन साइस र जाकिरिया ओबोउखलालले गोल गर्नुभएको थियो। मोरोक्कोको प्रशिक्षक वालिद रेग्रागुईले विश्वका दुई उत्कृष्ट टिमविरुद्ध राम्रो नतिजा निकालिसकेको र क्यानडाविरुद्ध पनि सोही लयलाई कायम राख्ने बताउनुभएको छ।

मोरोक्को र क्यानाडले यसअघि एक पटक मात्र एक–अर्काविरुद्ध खेलेका छन्। सन् २०१६ मा भएको खेलमा मोरोक्कोले क्यानडालाई ४–० ले हराएको थियो। सो बेला हकिम जिएचले दुई गोल गर्नुभएको थियो। यस विश्वकपमा पनि चेल्सीको २९ वर्षीय मिडफिल्डर जिएच शानदार लयमा रहनुभएको छ।

बेल्जियम र क्रोएसिया भिड्दै

फिफा विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम कतार आउनुअघि उापधि दाबेदारमध्ये एक थियो। तर अहिले समूह चरण सकिँदा बेल्जियम नकआउटमा पुग्ने नै शङ्का छ। विश्वकपमा आफ्नो लय गुमाएको बेल्जियमले बिहीबार गत उपविजेता क्रोएसियाको सामना गर्दै छ। 

पहिलो खेलमा बल्लतल्ल क्यानडालाई १–० ले हराएको बेल्जियमले त्यसपछि मोरोक्कोसँग २–० ले अप्रत्यासित हार बेहोरेको थियो। जुन हारले बेल्जियमको १३ अपराजित यात्रामा पूर्णविराम लगाएको थियो। गत विश्वकपमा बेल्जियमले सेमिफाइनलसम्मको यात्रा गरेको थियो।

क्रोएसिया भने बेल्जियमविरुद्धको खेलअघि लयमा फर्केको छ। मोरोक्कोविरुद्ध गोलरहित खेलेको क्रोएसियालाई क्यानाडालाई सुरुमै गोल बेहोरेर पनि ४–१ ले हराएको थियो। एपी