• १२ वैशाख २०८१, बुधबार

करबाकेली इको ट्रेकमा सङ्ग्रहालय सञ्चालन (फोटोफिचर)

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी, मङ्सिर १४ गते । पुन (मगर) जातिको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवर्धनमा टेवा मिल्ने विश्वास गरिएको छ । 

लोप हुन लागेको पुनहरुको कला संस्कृतिको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरिएको करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताउनुभयो ।  सङ्ग्रहालयको मङ्गलबार सगरमाथा आरोही तथा नायिका दीया पुनले उद्घाटन गर्नुभएको । 


पुर्खाहरुले दैनिक जिवनयापनका लागि प्रयोग गरेका सामग्री, उनीहरुको कला संस्कृति नयाँ पुस्ताका लागि खोज अनुसन्धान गर्न सङ्ग्रहालयले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

हाम्रो मौलिक कला संस्कृति, भेषभूषा र परम्परागत जीवनशैली बारेमा नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ नायिका पुनले भन्नुभयो, ‘सङ्ग्रहालयले मौलिक कला संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि टेवा मिल्ने विश्वास छ । सङ्ग्रहालय उद्घाटनका अवसरमा पुन समुदायको मैलिक पुर्ख्यौली नृत्य प्रदर्शन गरेका थिए । 


पुन समुदायका पुर्खाहरुको दैनिक जिवनयापन झल्किने, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु सङ्कलन गरेर सङ्ग्रहालयमा राखिएको छ । परम्परागत सामग्री, पोशाक, हातहतियार, भाँडा, गहना, पुरना पुस्तक र धातुका सिक्काहरु पनि सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ । मङ्गलबारदेखि सङ्ग्रहालय अवलोकनका लागि खुला गरिएको छ । सङ्ग्रहालयका लागि परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुईतले भवन निर्माण गरिएको छ । 

सङ्ग्रहालय बनाउन संस्थागत र व्यक्तिगत रुपमा ८१ लख ८३ हजार रुपियाँ सहयोग जुटेको र ८० लाख ३९ हजार तीन सय ४५ रुपियाँ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रवि पुनले बताउनुभयो । 

कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने योजना रहेको करबाकेली बाबा संरक्षण समितिका संरक्षक पुनले भन्नुभयो, ‘परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्काउने उद्देश्यले निर्मित भवनमा पुन समुदायको अगुवाइमा सङ्ग्रहालय स्थापना गरिए पनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाउने योजनासहित सङ्ग्रहालय सञ्चालनमा ल्याएका छौँ । 

हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाँडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिने भएको छ । करबाकेली इको ट्रेकमा सङ्ग्रहालयका साथै जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरता थप विशेषता छ ।


समुन्द्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, नीलगिरि, माछापुच्छ्रे«, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृङ्खलाको साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ ।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा करबाकेली थान भएर बेनी बजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभीर, काफलडाँडा, रिम, फूलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले जोडेको छ ।