• १३ साउन २०८१, आइतबार

२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १३ गते । ट्राफिक प्रहरीले २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा चोरी भएका २२ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई ट्राफिक प्रहरीले मङ्गलबार हस्तान्तरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा १६ वटा मोटरसाइकल र ६ ओटा स्कुटर सवारी धनीलाई हस्तान्तरण गरेको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । 

उहाँका अनुसार यो आर्थिक वर्ष सुरु भएपछि सवारी हराएको ५९२ वटा निवेदन ट्राफिक प्रहरी कार्यालयमा आएको छ । आएका निवेदनका आधारमा खोजी गर्दा फेला परेका २०४ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको छ । 

तीमध्ये साउन महिनामा ७३, भदौमा ४०, असोजमा ३०, कात्तिकमा १४ र केही दिनअघि छ वटा सवारी साधन ट्राफिक प्रहरीले सवारी धनीलाई जिम्मा लगाइसकेको छ । सवारी धनी नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाएको पनि उहाँले जानकारी दिनुभयो । 

जथाभाबी पार्किङ नगर्न र पार्किङ गरिएका सवारी साधनमा पनि सुरक्षाका उपायहरू डिक्स लक, ह्याण्डिल लक, सेक्युरिटी साइरन आदि अपनाई सुरक्षित स्थानमा मात्रै पार्किङ गर्न सम्बन्धित सबैलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।