• १३ साउन २०८१, आइतबार

झडपमा घाइते भएका नगरप्रहरीको नर्भिकमा निःशुल्क उपचार

blog

काठमाडौं, मङ्सिर १३ गते । थापाथलीका सुकुम्वासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरूको टोलीसँग सुकुम्वासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । 

घाइतेहरूलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो । 

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्वासी बस्तीमा भएको झडपमा परी घाइते काठमाडौं महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढङ्गले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिनुभयो । 


झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले समेत नर्भिकमै उपचार जारी राखिएको छ । 

सिइओ मिश्रकाअनुसार नर्भिकले ३६ जना घाइतेहरूको तीन घण्टाभित्रमा उपचार सकेको थियो । नर्भिकको आकस्मिक उपचार सेवाको काठमाडौं महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोलले समेत प्रशंसा गर्नुभएको थियो । 

घटनापछि राति उहाँहरू घाइतेहरूको अवस्था बुझ्न नर्भिक अस्पतालमा पुग्नुभएको थियो । सो क्रममा उनीहरूले ‘यति धेरै घाइतेको छोटो समयमै व्यवस्थित उपचारको व्यवस्थापन कसरी गर्नुभयो’ भनी नर्भिकका चिकित्सकहरूसँग चासो राख्नुभएको थियो ।