• ८ वैशाख २०८१, शनिबार

स्वीट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

blog

खेलमा प्रतिस्पर्धा गर्दै ब्राजिल र स्वीट्जरल्यान्डका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १३ गते । विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह  ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हरायो । लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेल अगावै अन्तिम १६ मा पुगेको हो ।


पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले हराएको थियो । ब्राजिलको जितमा क्यासेमिरोले निर्णायक गोल गर्नुभयो । उहाँले ८३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै ब्राजिललाई जिताउनुभयो । 

स्वीट्जरल्यान्डको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल हुन सकेन । यस जितसँगै ६ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा छ ।

दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डको तीन तथा क्यामरुन र सर्बियाको एक एक अंक छ । स्वीट्जरल्यान्डले पहिलो खेलमा क्यामरुनलाई १-० गोलले हराएको थियो ।


सोमबार नै भएको खेलमा सर्बिया र क्यामरुनले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । ब्राजिल विश्वकपको नकआउट चरणमा पुग्ने दोस्रो टोली हो । 

यसअघि समूह ‘डी’ बाट साविक विजेता फ्रान्सले अन्तिम १६ मा स्थान बनाईसकेको छ । एजेन्सी