• १२ वैशाख २०८१, बुधबार

भारतीय गायकवाडद्वारा एकै ओभरमा सात छक्का र ४३ रनको कीर्तिमान

blog

भारतीय युवा क्रिकेटर ऋतुराज गायकवाड । तस्बिर : क्रिकिन्फो

काठमाडौं, मंसिर १२ गते । भारतीय युवा क्रिकेटर ऋतुराज गायकवाडले क्रिकेट खेलको एकै ओभरमा सात छक्कासहित ४३ रनको विश्वकीर्तिमान रच्नुभएको छ । भारतमा जारी विजय हजारे ट्रफीमा महाराष्ट्र टोलीको कप्तानी समेत गर्नुभएका गायकवाडले सोमबार एकै ओभरमा यस्तो कीर्तिमान बनाउनुभएको हो ।

ओपन गायकवाडले उत्तर प्रदेशविरुद्ध लिस्ट ‘ए’ क्रिकेटमा प्रतियोगितामा बनाएको यस कीर्तिमानको अहिले विश्वभर चर्चा भएको छ । उहाँले ४९औँ ओभरमा उत्तर प्रदेशका शिव सिंहलाई पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा लगातार चार छक्का  हान्नुभएको थियो ।

त्यसपछि पाँचौँ बलमा पनि उहाँले छक्का हान्नुभयो । तर, पाँचौँ बल नो बल भएपछि उहाँले प्राप्त अर्को बल र अन्तिम बलमा समेत छक्का हान्दै इतिहास रच्नुभयो । क्रिकेट इतिहासमा मान्यता प्राप्त खेलमा एकै ओभरमा सात छक्का भएको पहिलो पटक हो ।

गायकवाडले भारतबाट एक एकदिवसीय र टी–२० दुवै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । भारतको चर्चित फ्रेन्चाइज लिगमा उहाँ चेन्नई सुपर किंग्सबाट खेल्दै आउनुभएको छ । एजेन्सी