• १४ वैशाख २०८१, शुक्रबार

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको फराकिलो जित

blog

अर्धशतक बनाएपछि सुदूरपश्चिमका लागि कप्तान अनुराग सिंह । तस्बिर : क्यान

काठमाडौं, मङ्सिर १२ गते । सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई दुई सय १३ रनले हरायो ।

जितका लागि दुई सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–१ १६.३ ओभरमा सबै विकेटको क्षतिमा ५१ रनमा समेटिएको थियो । प्रदेश–१ का लागि भूपाल दंगालले मात्र १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो सङ्ख्यामा रन बनाउन सक्नुभएन । प्रदेश–१ लाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीको पाँच विकेट लिनुभयो ।

आकाश चन्दले तीन तथा मिलन बोहराले दुई विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेका निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान अनुराग सिंहले ८३ रन बनाउनुभयो ।

मिलन बोहराले ६४, दीपक बोहराले ३२, गजेन्द्र बोहराले २४, आकाश चन्दले २० र विशाल ऐरले १३ रन बनाउनुभयो । बलिङमा प्रदेश–१ का अभिनय राजवंशीले चार विकेट लिनुभयो । आशिष् मगर र दीपेश कँडेलले दुई दुई विकेट लिनुभयो ।

सुदूरपश्चिमका हेमन्त धामी म्यान अफ दि म्याच हुनुभयो । जितसँगै चार खेलबाट आठ अङ्क बनाएको सुदूरपश्चिम शीर्षस्थानमा छ । सात प्रदेशको सहभागिता रहेको प्रतियोगितामा दोस्रो स्थानमा रहेको बागमतीले तीन खेलबाट अङ्क बनाएको छ । 

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हरायो । गण्डकीले दिएको एक सय ६२ रनको विजयी लक्ष्य लुम्बिनीले ३९.२ ओभरका ६ विकेटको क्षतिमा पूरा गरेको थियो । जितसँगै तीन खेलबाट चार अंक बनाएको लुम्बिनी तेस्रो स्थानमा छ । चार खेलमा हार खेपेको गण्डकी अङ्कविहीन बन्दै अन्तिममा छ ।