• १२ फागुन २०८०, शनिबार

भटमास खेतीबाट मनग्य आम्दानी

blog

राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर,  मङ्सिर  ११ गते । दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनुभएको छ ।  गत वर्ष उहाँले दुई बिघा जग्गामा भटमास खेती गर्दा करिब रु. डेढ लाख आम्दानी गर्नुभयो । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले रु. तीन लाख ५० हजार आम्दानी गर्नुभएको छ ।

 थोरै मिहिनेतमा धेरै आम्दानी हुने भएकाले भटमास खेतीलाई निरन्तरता दिँदै आएको घिमिरेले बताउनुभयो । भारतको पन्तनगरबाट भटमासको बीउ ल्याएर यस क्षेत्रका किसानले भटमास खेती गर्दै आएका छन् ।

 “भटमास खेतीका लागि माटो उयुक्त छ” अर्का किसान महेश घिमिरेले भन्नुभयो, “आधुनिक तरिकाले भटमास खेती गर्नका लागि किसानलाई तालिमको आवश्यकता छ, किसानको क्षमता वृद्धि भए उत्पादन बढाउन सकिन्छ ।”

उहाँका अनुसार दोधारा चाँदनी भटमास खेतीको हबका रुपमा विकसित भइरहेको छ । यहाँ उत्पादन हुने भटमास नेपालगञ्ज र धनगढीका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । भटमास खेतीमा संलग्न किसान दीपक सापकोटाका अनुसार यो  खेती गर्दा त्यति धेरै  सिँचाइको आवश्यकता पर्दैन । 

 “गाईवस्तुले भटमासका बिरुवा खाँदैनन्” उहाँले भन्नुभयो, “छाडा चौपायाले खाने समस्या हुँदैन, थोरै गोडमेलले पुग्छ, थोरै परिश्रममा धेरै उत्पादन हुनाका साथै  मनग्य आम्दानी पनि यस खेतीबाट लिन सकिन्छ ।” तीन वर्षदेखि भटमास खेती गर्दै आउनुभएका सापकोटाले प्रति वर्ष रु. दुई लाखभन्दा बढीको भटमास बिक्री गर्दै आउनुभएको छ । 

“भटमास खेती पहाडी क्षेत्रमा मात्रै हुने गरेको थियो” दोधाराकै किसान हरिनारायण तिवारीले भन्नुभयो, “निकटवर्ती क्षेत्रका भारतीयहरुले भटमास खेती गरेको देख्यौँं र  त्यसकै अनुसरण गर्दै परीक्षणका रुपमा खेती गर्न लाग्यौँ, उत्पादन राम्रो भएपछि यसलाई निरन्तरता दिंदै आएका छौँ ।”

 दोधारा चाँदनीमा करिब सय बिघा जग्गामा भटमास खेती हुने गरेको छ । भटमास काट्न र चुट्नका लागि स्थानीय किसानले उपकरणको  प्रयोग गर्ने गरेका छन् । 

फल र पातमा रोग किराको प्रकोप देखिने भएकाले तीनदेखि चार पटकसम्म बिषादी छर्कनु पर्ने अवस्था रहेको किसान तिवारीले बताउनुभयो । रोग तथा  कीरा रोकथामका लागि  सल्लाह र सुझाव लिन भारतीय प्राविधिकको भर पर्नुपर्ने उहाँको भनाइ थियो  । 

भटमासबाट तेल र सोयाबिन बन्ने गरेको छ । भटमास प्रतिकिलो रु. एक सयका दरले बिक्री हुने गरेको छ । भटमास खेतीमा संलग्न किसानले सुदूरपश्चिम क्षेत्रमै भटमासबाट सोयाबिन र तेल निकाल्ने उद्योगको माग गर्दै आएका छन्

 भटमासलाई बहुउपयोगी कोसेबालीका रुपमा लिइने गरिन्छ । घरमा भटमासको गेडा भुटेर, अचार बनाएर, उसिनेर खाने गर्नाका साथै दालका रुपमा प्रयोग गरिँदै आइएको छ ।

 कृषि प्राविधिक करन सिंह बुढाऐरका अनुसार भटमासबाली काटिसकेपछि गहुँ बाली लगाउँदा युरिया मलको मात्रा कमै मात्र प्रयोग गर्दा हुन्छ ।

 भटमासको जरामा नाइट्रोजन प्रर्याप्त मात्रामा हुने भएकाले रासायनिक मलको मात्रा कम गरे पुग्ने उहाँले बताउनुभयो ।

 “मकैसँंगै भटमास खेतीगर्दा छुट्टै मल आवश्यक पर्दैन” प्राविधिक बुढाएरले भन्नुभयो, “एक्लो बालीका रुपमा लगाउँदा भने मल प्रयाग गर्नुपर्दछ ।” 

भटमास खेतीका लागि पानी नजम्ने दोमट किसिमको माटो आवश्यक पर्दछ । समुन्द्री सतहको पाँच सय मिटरदेखि दुई हजार मिटरको उचाइसम्म भटमास खेती गर्न सकिन्छ ।