• ११ वैशाख २०८१, मङ्गलबार

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

blog

मेक्सिकोविरुद्ध गोल गरेपछि अर्जेन्टिनाका लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ११ गते । पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा जित निकालेको छ ।

समूह ‘सी’ अन्तर्गत लुसेल रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हरायो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र न्जो फर्नान्डेजले गोल गर्नुभयो ।

पहिलो हाफमा औसत खेल प्रदर्शन गरेको अर्जेन्टिना दोस्रो हाफमा खेलमा फर्किएको थियो । ६४औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । डिबक्सभित्रको मेस्सीको शसक्त प्रहार विपक्षी रक्षकलाई लाग्दै गोल भएको थियो ।

त्यसपछि ८७औं मिनेटमा न्जो फर्नान्डेजले मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई जिताउनुभयो । पहिलो हाफमा गोलको राम्रा अवसर गुमाएको मेक्सिकोले दोस्रो हाफमा खासै प्रभाव जमाउन सकेन ।पहिलो जितसँगै तीन अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको पोल्यान्डको चार अंक छ ।

शनिबार नै भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २-० गोलले हराएको थियो । तीन अंक बनाएको साउदी अरब तेस्रो स्थानमा छ । अन्तिममा रहेको मेक्सिकोको एक अंक छ । एजेन्सी