• २३ वैशाख २०८१, आइतबार

विद्यार्थीबाटै उदाएका विजेता

blog

काठमाडौँ, मङ्सिर ११ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रीय विद्यार्थी सङ्गठनको राजनीतिक पृष्ठभूमिबाट आएका उल्लेख्य उम्मेदवारले जितेका छन्। 

प्रमुख दल कांग्रेस, नेकपा (एमाले), माओवादीलगायत साना दलबाट समेत पार्टीको ‘नर्सरी’ मानिने विद्यार्थी सङ्गठनलाई आधार बनाएर उदाएका व्यक्तिहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन जितेका हुन्।

प्रधानमन्त्री तथा नेपाल विद्यार्थी सङ्घका पूर्वसभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। कांग्रेस महामन्त्री तथा नेविसङ्घका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। काठमाडौँ–४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका कांग्रेसकै महामन्त्री गगन थापा पनि सङ्घका पूर्वमहामन्त्री हुनुहुन्छ। 

त्यस्तै काठमाडौँ–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेल तथा कञ्चनपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एनपी साउद पनि सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ। 

किशोरसिंह राठौर बाँके–३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। सङ्घकै पूर्वअध्यक्षहरू धनराज गुरुङ पनि स्याङ्जा–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ। तर आन्तरिक विवादका कारण यो क्षेत्रमा मतगणना सुरु भएको छैन। 

सङ्घका पूर्वकेन्द्रीय उपाध्यक्षहरू डिल्लीराज सुवेदी बागलुङ–१ ‘ख’ तथा जित शेरचन बागलुङ–२ ‘क’बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ। सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले दोलखाको प्रदेश ‘क’बाट प्रदेश सभा सदस्यको उम्मेदवार हुनुभएको छ। तर विवादका कारण त्यहाँ मतगणना सुरु भएको छैन। 

सङ्घकै पूर्वअध्यक्ष तथा गृहमन्त्री बालकृष्ण खाण रुपन्देही–३ बाट तथा पूर्वअध्यक्ष बलबहादुर केसी सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भए पनि पराजित हुनुभयो।

नेकपा (एमाले)ले पनि अनेरास्ववियुको पूर्वअध्यक्षदेखि केन्द्रीय कमिटीमा रहेर राजनीति गरेकाहरू सङ्घ र प्रदेश सभाको सदस्यमा विजयी भएका छन्। सङ्गठनका पूर्वअध्यक्ष तथा पार्टीका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। 

सङ्गठनकै पूर्वअध्यक्ष ठाकुर गैरे पाल्पा–२ बाट र सङ्गठनका पूर्वउपाध्यक्ष महेश बर्तौला मकवानपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

सङ्गठनका पूर्वअध्यक्ष हिक्मत कार्की झापा–५ ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। हाल प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पनि तत्कालीन नेकपा (एमाले)निकट अनेरास्ववियुकै पूर्वअध्यक्ष हुनुहुन्छ। उहाँ हाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीतर्फबाट भोजपुर–१ ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। 

सङ्गठनको केन्द्रीय कमिटीमा रहेर लामो समय काम गर्नुभएका शिशिर पछाई जुम्ला प्रदेश सभा ‘ख’बाट निर्वाचित हुनुभएको छ। दाङ–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका पार्टीका महासचिव तथा सङ्गठनका पूर्वअध्यक्ष शङ्कर पोखरेल तथा अनेरास्ववियुकै केन्द्रीय कमिटीमा रहेर काम गरिसक्नुभएका र महेन्द्र रत्न क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति बन्नुभएका विशाल भट्टराई खोटाङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभए पनि दुवै जना पराजित हुनुभयो। 

सङ्गठनकै पूर्वअध्यक्ष रामकुमारी झाँक्री नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)तर्फ गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भए पनि पराजित हुनुभयो। सङ्गठनका पूर्वअध्यक्ष ऐन महर बझाङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएको थियो। तर उहाँ पनि पराजित हुनुभयो। 

सङ्गठनका पूर्वउपाध्यक्ष रहनुभएका विनोद ढकाल मोरङ–४, पूर्वमहासचिव भानुभक्त ढकाल मोरङ–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहे पनि पराजित हुनुभयो। 

अनेरास्ववियुकै केन्द्रीय कमिटीमा लामो समयसम्म विभिन्न भूमिकामा रहनुभएका यज्ञराज सुनुवार ओखलढुङ्गाबाट प्रतिनिधि सभाको उम्मेदवार रहनुभए पनि पराजित हुनुभयो। 

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष देवेन्द्र पौडेल बागलुङ–२ तथा सङ्गठनकै पूर्वकेन्द्रीय सदस्य शक्ति बस्नेत जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। क्रान्तिकारीकै पूर्वकेन्द्रीय सदस्य माधव सापकोटा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभएको छ। 

सङ्गठनका पूर्वउपाध्यक्ष गङ्गानारायण श्रेष्ठ सिन्धुली–२ को प्रदेश ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। सङ्गठनकै पूर्वउपाध्यक्ष तथा बागमती प्रदेशका पूर्वमन्त्री रत्न ढकाल काभे्रबाट प्रतिनिधि सभा–१ को ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

पार्टीका महासचिव तथा पूर्वअध्यक्ष देव गुरुङ लमजुङबाट, पूर्वमन्त्री तथा सङ्गठनकै पूर्वसचिव कल्पना धमला काठमाडौँ–९ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभए पनि पराजित हुनुभयो। अर्का पूर्वउपाध्यक्ष सुदीप कुँवर पर्वतबाट प्रदेश सभा सदस्यको उम्मेदवार रहनुभए पनि पराजित हुनुभयो।

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।