रोचक, रमणीय र आनन्ददायी यात्रा भइरहेको छ । कटरा जाने क्रममा कविर दासको दोहा गुनगुनाउँदै थियौँ । नेपालको जस्तै सुन्दर पहाडहरूले चारैतिर घेरेको अति नै रमणीय वातावरणमा जम्मु हाँसेको रहेछ । गाडीको सीसाबाट पहाडका भिन्न भिन्न रूप हेर्दै थिएँ । कुनै पहाड त मलाई महान् चित्रकारले ठूलो क्यानभासमा आफ्नै कल्पनाले कोरेको सुन्दर चित्रजस्तो लाग्दैथ्यो ।
ती कलात्मक प्राकृतिक सुन्दरतामा लठ्ठ परेर म झुमिरहेकी थिएँ । त्रिकुट पहाड मुसुक्क हाँस्दै मेरो कानमा सुस्तरी साउती मार्न पो थाल्यो– “मलाई भेट्न कति वर्ष लगाएकी । वर्षौं भयो मैले तेरो प्रतीक्षा गरेको । तेरी आमाले यहाँ आउँदा तेरो सुस्वास्थ्यको कामना गर्दै मेरो छातीमा टेकेर अविराम हिँडेर माताको चरणमा शिर झुकाएर बिन्ती चढाएको मैले बिर्सिएको छैन । त्यहीबेलादेखि तँलाई हेर्ने उत्कट अभिलाषा पालेर राखेको थिएँ, बल्ल आज सन्तुष्ट भएको छु । थाहा छ, मलाई हेर्न तँ पनि निकै लालायित थिइस् मेरो आँगनमा आएर मलाई हेर् । आशीर्वाद छ । तेरो र मेरो मिलनको यो स्वर्णिम समय अब अरूका लागि रमाइलो कथा बन्नेछ ।”
झसङ्ग भएँ सपना हो या कल्पना छुट्याउन नसक्दै त्रिकुट पहाडको शिखरबाट वैष्णोदेवीका करुणामयी आँखाले मातृत्वको न्यानो आभा छरिरहेको थियो । विभोर भएर त्यो अलौकिक दृश्य हेर्दै थिएँ, पहाडको अर्को चुचुरोबाट भैरवनाथले जोडले बोलेको आभास भयो– “अनिता ! पशुपतिनाथबाट भोलेनाथको सन्देश के ल्याएकी छस् ?”
पूर्ण आनन्दमा कल्पना पनि कति मीठा र आनन्ददायी हुँदा रहेछन् । कल्पनाको दुनियाँमा आफैँसँग संवाद गर्दै पो रहेछु । साँच्चै हामीले जीवनमा यात्रालाई समय छुट्याउन नितान्त आवश्यक रहेछ । यात्राले त नयाँ ऊर्जा पो जागृत गराउँदो रहेछ । यात्रा त त्यो शक्ति रहेछ, जहाँ अवसादले झर्न लागेको मनलाई पनि जुरुक्क उठाएर आनन्दको आकाशमा फिलिली उडाउँदै सोचाइको साँघुरो घेराबाट चेतनाको विशाल मैदानमा स्वच्छन्द विचरण गर्ने अवसर प्रदान गर्दै जोकोहीलाई प्रफुल्ल बनाउने ।
करिब ९ः३० मा कटरा आइपुग्यौँ । हाम्रो बन्दोबस्ती ट्रुन्ड रेजिन्सीमा भएको थियो । फ्रेस भएर नास्ता खायौँ र केहीबेर आराम ग¥यौँ । दिउँसो करिब २ बजे निकै राम्रो भोजनालयमा गएर स्वादिष्ट भोजन ग्रहण ग¥यौँ । राजकचौरी खाने सल्लाह भयो । भोकको सीमा थिएन, एक सेट खानाको थाली सकेर पनि राजकचौरी सजिलै गयो । भोजनले तृप्त भएपछि ३ः४५ मा हामी माताको दर्शनका लागि त्रिकुट पहाडको फेदीमा लामबद्ध भयौँ । अनि नयाँ बाटो हुँदै वैष्णोदेवीको यात्रा सुरु गर्न थाल्यौँ । ढोलक बजाउँदै आएका भक्तजनसँग एकछिन हामीले पनि जानीनजानी भँगडा नाच्यौँ ।
माताको दरबारमा जानलाई विभिन्न सुविधा र बाटो रहेछन् । नयाँ र पुरानो बाटो, घोडाको सवारी, सिँढीको बाटो, पाल्की, हेलिकोप्टर, केबुलकार । हामीले नयाँ बाटो रोज्यौँ । निकै सुन्दर, सफा, फराकिलो र व्यवस्थित । ठाउँठाउँमा आरामका लागि तातो र चिसो पानी आउने धाराहरू, आराम गर्ने बेन्च, शौचालय, सुपथ मूल्यका पसल, निकै सस्तो होटल देखेर मन निक्कै फुरुङ्ग भयो । पर्यटनलाई लोकप्रिय पार्न त व्यवस्थापन पक्ष मजबुत हुनुपर्ने रहेछ । गाडी हिँड्ने बाटो भएर पनि यात्रु चढ्न नपाउने गजबको सङ्गठन राम्रो लाग्यो, स्थानीयको रोजीरोटीको सवाल जो थियो । यदि यात्रुले गाडी चढ्न थाले भने वैष्णोदेवीको यात्राको सुन्दरता नै नष्ट हुनुका साथै घोडा, पाल्की र गोडामा मसाज गर्ने व्यवसाय धराशायी हुने देखेर त्यो नियम लागू गरेको होलाजस्तो लाग्यो ।
हिन्दी सिनेमाका कैयौँ गीतमा वैष्णोदेवीको यात्रा हेर्दै आएकी थिएँ । माताको अनुकम्पा नभए कोही पनि यहाँ आउन सक्दैन भन्ने विश्वास रहेछ । यात्रामा आनन्द मात्र लिन्छु भनेको यो मन फेरि तुलना गर्न थाल्छ र दिक्क मान्छ । आफ्नो ठाउँको अभाव र अप्ठ्यारो नहेरी यात्राको मात्र आनन्द लिन किन नसकेको यो मनले ?
त्रिकुट पहाडको त्यो उचाइमा कटरा बजारभन्दा सस्तोमा क्यापचिनो कफी पाउँदा व्यापार सधैँ नाफामुखी हुँदैन रहेछ भन्ने शिक्षा प्राप्त गर्न पुगेँ । सेवामुखी व्यापारको स–प्रमाण प्रत्येक होटल र कफी सपमा देखेँ । फेदमा भन्दा उचाइमा मूल्य अत्यधिक हुन्छ भन्ने मेरो सोचलाई धुलिसात पारिदियो यो उचाइको यात्राले ।
पर्यटन नै जम्मुकस्मीर राज्यको ठूलो आर्थिक स्रोत होला भन्ने अनुमान गलत पक्कै नहोला । त्यसमा पनि ठूलो हिस्सा धार्मिक पर्यटनले बेहोरेको हुनुपर्छ भन्ने लाग्यो । यहाँ आउने भक्तजनको भीड हेर्दा लगभग दैनिक २५÷३० हजार भक्तजन आउने रहेछन् । अझ नवरात्रको समयमा यहाँ लाखौँको मानव सागर ओर्लन्छ भन्ने थाहा पाएँ । के वृद्ध, के बालक सबै उफ्रिएका थिए यात्रामा । त्रिकुट पर्वतको उकालो चढ्दा ‘जय माता दी’को जयकार जब गुन्जिन्थ्यो, लोलाएका आँखा र गलेका गोडामा अचानक ऊर्जा जागृत हुन्थ्यो । म सोच्न बाध्य भएँ– शरीर लेथ्नो भएर थाके पनि यदि मान्छेको मनमा खुसी, उत्साह र उमङ्ग छ भने ऊ थाक्दो रहेनछ । मानसिक चिन्ता र अनियन्त्रित सोचले मान्छे ज्यादा दुःखी र थकित हुँदो रहेछ भन्ने गुप्त ज्ञान पत्ता लाग्यो ।
हिँड्दाहिँड्दै गोडा त गल्थ्यो तर मनको प्रसन्नताले हिम्मत जाग्थ्यो अनि आराम गर्दै पानी र कफी खाँदै, लौरो टेक्दै हिँड्ने क्रम रातिको करिब १० बजेसम्म नै भयो । यति लामो उकालोको पैदल यात्रा कहिल्यै गरेको थिइनँ । रातिको समय पनि रातिजस्तो थिएन । १०ः१० मा हामी माताको दरबारअगाडि पुग्यौँ । अचम्म त्यो बिरानो पहाडमा त्यो विशाल वैष्णोदेवीको दरबार कुनै राजा–महाराजाको भव्य महलभन्दा कम थिएन । अझ कृष्णपक्षको रातमा हीरा, मोती र मणिमाणिक्यले सुशोभित स्वस्थानी कथामा वर्णित त्रिपुर दैत्यको त्यो अद्भुत महलजस्तै प्रतीत हुँदैथ्यो । दैत्यराज मयको त्यो भव्य दरबार सायद यस्तै देखिन्थ्यो होला । एक निमेषमा जोडिएर छुट्टिने मयको दरबार पनि सचित्र मेरो आँखामा नाचिरहेको थियो ।
प्रसाद किन्न लाइनमा गएको बेला फोटो खिचाउँदै थियौँ । अचानक भीडमा कसैलाई देखिनँ । अनि पक्कै अगाडि जानुभयो होला भनेर दौडिएँ तर त्यो मानव सागरमा अगाडि पनि कसैलाई नदेख्दा केहीबेर मन आत्तियो । अनि अग्लो ठाउँमा गएर चारैतिर हेर्न थालेँ, कसैलाई देखिनँ । मनमनै सोच्न थालेँ– साथीबाट छुट्टिएकाले म यहाँ छु भनेर माइकमा भन्न जाऊँ कि क्या हो ? तुरुन्तै मेरा गोडा माइकतिर बढेका मात्र थिए टक्क अडिए, निकै पर काका र बाबुलाई देखेँ अनि राहत महसुस गर्दै पुनः पछाडि दौडिएँ । उहाँहरू निकै चिन्तित हुनुभएछ मलाई नदेखेर ।
अचम्म त्यो बिरानो पहाडमा त्यो विशाल वैष्णोदेवीको दरबार कुनै राजा–महाराजाको भव्य महलभन्दा कम थिएन । अझ कृष्णपक्षको रातमा हीरा, मोती र मणिमाणिक्यले सुशोभित स्वस्थानी कथामा वर्णित त्रिपुर दैत्यको त्यो अद्भुत महलजस्तै प्रतीत हुँदैथ्यो ।
बल्लतल्ल वैष्णोदेवीको दर्शन गर्न जाने लाइनसम्म पुग्यौँ । सबै जना एकैचोटि जान नमिल्ने भयो । सामान राख्ने लकर जम्मै भरिभराउ भइसकेको रहेछ । त्यसैले पहिलो चरणमा तीन जना जानुभयो । मसहित अन्य डल्लो परेर सामान कुर्दै बस्यौँ ।
जाडो यस्तो थियो कि मानौँ– हिउँ नै खसिरहेको छ । एउटा ओड्ने र जाडो छेक्ने ज्याकेट असमर्थ भइरहेको थियो । मान्छेको भीड निकै भएकाले पहिलो टोली फर्केर आउन करिब दुई घण्टा लाग्यो । रातिको १२ बजेपछि हाम्रो टोली दर्शनका लागि लाइनमा लाग्यो । बिस्तारै बिस्तारै लाइन सरिरहेको थियो । म सोच्दै थिएँ, आस्था र विश्वास नभए मान्छे कति निरस हुन्थ्यो । शक्तिशाली माताको चौखटमा भाकल बोकेर कति आएका थिए होलान्, कति भाकल पूरा भएर । पूजा, आराधना गर्दै हामीहरूले पनि रातिको २ बजे बल्लतल्ल मातारानीको दर्शन गर्न पायौँ ।
वैष्णोदेवीमा ‘माताको पिन्डीको दर्शन गर्नुपर्छ’ भनेर मेरी भाउजूले सिकाउनुभएको थियो । अनि त्यो गुफाभित्र तीनवटा पिण्डीको दर्शन राम्रोसँग गरेँ तर निमेषभरमा गर्नुपर्ने रहेछ । माताको दर्शन गरेपछि मन निकै फुरुङ्ग र आनन्दित भयो । सम्पूर्ण परिवार आफन्तको सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दै माताको चौखटबाट बिदा लिएर गुफाबाहिर निस्कियौँ ।
२ः१५ मा ओरालो झर्ने तयारीमा लाग्यौँ । उकालोभन्दा ओरालो सहज हुन्छ भन्दै मनमनै मक्ख परेँ । बाटोमा कफीको तातोले जाडोलाई केही राहत दिन्थ्यो । ११ किलोमिटर ओरालो झर्नु थियो । आँखा लोलाउन आँटेका थिए तर हिम्मतका साथ ओर्लिन कम्मर कस्यौँ । अर्धकुमारीबाट नयाँ र पुरानो बाटो छुट्टिने रहेछ । हाम्रो टोली पनि यहीँबाट छुट्टिएर दुई टोली भयो ।
भ¥याङबाट झरे चाँडो पुगिन्छ भन्ने विश्वासमा लखतरान भएका गोडाहरू लर्खराउँदै भ¥याङबाट झर्न थाले । करिब तीन हजारजति खुड्किला ओर्लनुपर्ने रहेछ । ठाउँठाउँमा गोडा फत्रक्कै गल्थ्यो । शरीर पनि थररर काँप्थ्यो । मनले झन्डै हरेस खाको तर बस्दैबस्दै करिब बिहानको ५ बजे वाणगङ्गा नदीको कलकल आवाजले कटरा आएको जानकारी दियो अनि ढुक्कले श्वास फे¥यौँ ।
अर्को टोलीलाई पर्खनुभन्दा अटो समातेर होटल नै जान उचित लाग्यो र फोनमार्फत जानकारी दिँदै होटलतिर लाग्यौँ । होटल पुगेपछि हातमुख धुँदै, लुगा फेरेर ओछ्यानमा गएका मात्र के थियौँ, आँखा त बन्द पो भइहाले । अर्को टोलीहरू आएपछि हल्लाखल्ला भयो ।
एकैचोटि ११ बजे हाम्रा आँखा बल्लतल्ल अल्छी मानिमानी उठे । बसेकै कोठामा चिया र नास्ता आइपुगेको रहेछ, सबैले खाजा र चिया आनन्दले लियौँ । थकाइ यति थियो कि फेरि सबैजना सुत्न आ–आफ्नो कोठामा गयौँ । सबैलाई हिँडाइले गालेको थियो, मेरो पनि शरीर निकै गलेको थियो तर केही लेखौँ भन्ने सोचले मन र हात जागृत रहे र केही अनुभूति होटलको आरामदायी ओछ्यानबाट लेख्न थालेँ ।
साँझ ७ बजेतिर सबैजना कटराको मुख्य बजार हेर्ने र खाना खान भनेर हिँड्दै गयौँ । आँखाले जब सन्ध्याकालीन बजारको रमझम देख्यो, हिँडेर गाँठो परेका गोडाको दुखाइ पनि ओझेल पर्न थाल्यो । सबैले केही प्रसाद किने । वैष्णोदेवीको गुफाभित्र फोटो खिच्न नपाएको रहर स्टुडियोमा माताको चरणमा चुन्नी ओडेर सम्झनास्वरूप फोटो खिचायौँ । गुफाभित्र फोटो खिच्न नपाइने रहेछ तर स्टुडियोमा रमाइलो गरेर फोटो खिच्यौँ । खाना खानलाई एक होटल गयौँ । मिठामिठा दक्षिण भारतीय खाना अर्डर ग¥यौँ– साम्बर, दहीबडा, डोसा, इड्ली, दाल मखनी र नान । दाल तड्का र खानाको हिरो राजकचौरी पनि अति नै मीठो मानेर ग्रहण ग¥यौँ । अन्तिममा निकै स्वादिलो सुप मर्काउँदै झिलिमिली बजारको एक चक्कर लगायौँ । कटरा बजारको रात्रिकालीन हिँडाइको पूर्ण रूपले आनन्द उठाउँदै हामी करिब रातिको ११ बजे होटल फर्कियौँ ।
बिहानै होटल छोड्नु थियो । सबै जना नित्यकर्म सकेर चाँडो तयार भयौँ । हिँड्दा हिँड्दै होटलले दिएको खाजा र चिया पनि झ्वाम पार्दै होटलकै भ्यानबाट कटरा रेल्वे स्टेसन पुग्यौँ । कटरा स्टेसन पनि निकै सफा र राम्रो रहेछ । बेन्चमा केहीबेर आराम गर्दै केही फोटो खिचायौँ । हाम्रो रेल बिहान ९ः२० मा कटराबाट दिल्ली हुँदै हापा स्टेसनसम्मका लागि छुट्यो ।
जुन कुरो नगर भन्यो त्यही कुरा गर्न थाल्ने यो अनियन्त्रित मनलाई रोक्नै सकिनँ । विकासको सोचलाई परिणाममुखी बनाउन भौतिक कठिनाइ त बहाना मात्र रहेछ भन्ने कुराले मेरो मन भावुक बन्यो । कटराबाट पहाडका चट्टानलाई ताछेर निर्माण गरिएका १५ वटा सुरुङ मार्गलाई हामी चढेको रेलले लुकामारी खेल्दै, अप्ठ्यारो अनि गहिरो खोँचलाई चुनौती दिँदै निर्माण गरिएको विशाल पुलमाथि रेलको लचकदार नृत्य देखियो । बेजोडको इन्जिनियरिङलाई हृदयबाट कृतज्ञता व्यक्त गर्दै जम्मुको विशाल क्षेत्रफललाई आँखाले भ्याएजति दृश्यपान गरिरहेको थिएँ । कटप्पा (बाहुबली) को संवाद कानमै गुन्जियो– मान्छे शारीरिक रूपमा भन्दा मानसिक रूपमा बढी अशक्त हुन्छ । हाम्रो विडम्बना हामी नेपालीलाई पनि अलिअलि यही भनाइले छोएको रहेछ । हृदयले आनन्दको यति धेरै अनुभव गरिरहेको थियो कि शब्दमा त्यो आनन्दको बयान गर्न सक्दिनँ । मलाई यस्तो अनुभव भइरहेको थियो कि रेलको लिकबाट आएको कर्कस आवाजमा पनि एआर रहमानको ‘छैयाँ छैयाँ’को सुमधुर धुन सुनिरहेकी थिएँ ।