कमिलाको ताँती हेर कति मेहनती,
तिनलाई हेरी गर्नु पर्छ हामीले प्रगति ।
ज्यानलाई थाक्न दिनु हुन्न हरेश खाएर,
सङ्घर्ष गरी जित्नु पर्छ ज्याद्रो भएर ।
सङ्घर्ष गर्नु नै छ है यो जिन्दगीभरि,
उकाली र ओराली आउँछन् घरी घरी ।
कैल्यै पनि गर्नु हुन्न अर्कासँग सेखी,
परिश्रम गर्न सिक्नु पर्छ वरपर देखी ।
किन उज्याला छन् बुझौँ ती घाम र जून,
धेरै मेहनत गर्नु पर्छ हामी चम्किलो हुन ।
अल्छी कैल्यै मान्नु हुन्न जाँगर गर्नु पर्छ,
नङ्ग्रा खियाई काम गरे यहीँ सुन फल्छ ।
बल्ल बल्ल पाएका छौँ यो अमूल्य जुनी,
लक्ष्य लिनु पर्छ सधैँ चन्द्रमालाई छुनी ।
आफ्नो लागि मात्र हैन अरूका लागि बाँचौँ,
दुःख पीडा सबलाई हुन्छ त्यसलाई भुली नाचौँ ।