• १८ जेठ २०८२, आइतबार

मृत्यु–चिन्तन [निबन्ध]

blog

कुनै कुनै ससाना घटनाले पनि हामीलाई यसरी संवेदित र उद्वेलित बनाउँछन् कि हामी ती घटनाको स्मृतिबाट मुक्त हुन सक्दैनौँ । ती हाम्रो जेहनमा गढेर बसिदिन्छन् । 

केही समयअघि मेरो जीवनमा घटेको एउटा सानो घटनाको स्मृतिदंशले अहिले पनि मलाई लखेटिरहेको छ ।

घटना सामान्य हो । हुन सक्छ, सुनेर तपाईं व्यङ्ग्यपूर्ण हाँसो हाँस्नुहोस् । घटना के भने, हाम्रो घरमा पालेको कुकुर (कोको) म¥यो । त्यो कुकुर कुनै लाइका वा हाचिको थिएन, जसको यहाँ बयान गर्नु परोस् तर मेरा लागि यो घटना सामान्य विषय बन्न सकेन ।

त्यो मृत्युले उत्पन्न गरेको संवेदना मेरा लागि कुनै नजिकको आफन्तको मृत्युभन्दा कम थिएन । एक वर्षभित्रै त्यो परिवारको एक अभिन्न सदस्य भइसकेको थियो । ऊ केही चकचके स्वभावको थियो । मानिससँग खेलिरहन रुचाउँथ्यो । उसले प्रदर्शन गर्ने कतिपय व्यवहार हामी मानिसका लागि पनि अनुकरणीय थिए ।

यो मृत्यु प्रक्रिया अनौठो थियो । कोकोले जाँदाजाँदै जुन व्यवहार प्रदर्शन गरेर गयो, त्यो सामान्य थिएन । हाचिकोले करोडौँ आँखालाई भिजाए जस्तै कोकोले पनि हाम्रा आँखालाई अश्रुपूर्ण बनाएर गएको थियो । उसको मृत्यु हाम्रा हृदय पगाल्नका लागि काफी भइदियो । 

भन्छन्, कुकुरले मर्ने बेलामा घर छोड्छ तर कोकोले घर छोड्न पाएन । हामीले नै उसलाई घरबाहिर जाने वातावरण दिएनौँ । रातिबाट एकाएक श्वासप्रश्वासमा समस्या आएपछि हामीले उसलाई भित्रै थुनेर राखिदियौँ । 

हामीले केही घरायसी उपचार ग¥यौँ तर उसलाई निको भएन । रातभरि ऊ घ्यार घ्यार गर्दै छटपटिइरह्यो । हामी पनि निदाउन सकेनौँ । बिहानसम्ममा ऊ सिकिस्त भइसकेको थियो । ऊ बाहिर निस्कन सक्ने अवस्थामै भएन । बिहान छोराले उचालेर आँगनमा निकाल्यो । उपचारका लागि पशु स्वास्थ्यकर्मी बोलायौँ । केही उपचार भयो तर पनि निको हुने सङ्केत देखिएन ।

उसले कुनै प्रकारको विषादी सेवन गरेको हुन सक्ने आशङ्का गर्दै ती स्वास्थ्यकर्मीले अब ढिला भइसकेको घोषणा गरे । सायद उसको अन्तिम अवस्था आइसकेको थियो । ऊ सकिनसकी घस्रिन थाल्यो । उठेर हिँड्ने सामथ्र्य उसमा थिएन । घस्रिँदै घस्रिँदै उसले घरको सिमाना पार ग¥यो र त्यहीँ लमतन्न पसारियो । उसको धुकधुकी अझै बाँकी थियो । हामीले उसलाई बोलाएर पानी दियौँ । उसले अन्तिम पटक टाउको उठाएर पानी पियो । 

आँखा नचायो । हाम्रा अनुहार नियाल्यो । उसका आँखा अश्रुपूर्ण थिए । सायद ऊ हामीसँग अन्तिम बिदा मागिरहेको थियो । उठाएको शिर अलिकति झुकायो । सायद ऊ हामीलाई अन्तिम पटक अभिवादन गरिरहेको थियो ।  उसले लामो समय यसरी आफ्नो शिर धानिरहन सकेन । उसको शिर लत्रियो । उसले त्यो शिर फेरि कहिल्यै उठाउन सकेन । ऊ चिरनिद्रामा लीन भयो ।

यो एउटा कारुणिक दृश्य थियो । जसले हामीलाई संवेदित नबनाइरहन सकेन । उसको मृत्युमा हाम्रा आँखाहरू सजल बने, मनहरू संवेदित । यो एउटा जीवनको समाप्ति थियो । प्रकृतिका ससाना कुराले पनि हामीलाई केही न केही कुरा सिकाइरहेका हुन्छन् तर हामी तिनलाई महत्व दिँदैनौँ । सिक्न चाहँदैनौँ । सिक्नका लागि हामीलाई प्रकृतिले अनेकौँ घटना पाठका रूपमा घटाएको हुन्छ तर त्यसलाई हामीले ग्रहण गर्न सकिरहेका छैनौँ । 

जीवनपछि मृत्यु एक अनिवार्य सत्य हो तर यसको बोध सायद मानिसलाई जीवनकालमै सायदै हुन्छ । मृत्युशय्यामा पुगेपछि मात्र ऊ मृत्युबोध गर्छ कि ! 

जीवन, मृत्यु, प्रेम, यौन जस्ता कुराले हामीलाई पीडा दिन्छन्, खुसी दिन्छन् । हामी फरक फरक मृत्यु संवेदना बोकेर बाँचिरहेका छौँ । परिवारको प्रिय सदस्य वा नजिकको आफन्त गुमाउँदा हामी अत्यन्तै मर्माहत बन्छौँ, विक्षिप्त हुन्छौँ । घरमा पालेको एउटा पशु मर्दा पनि हामी निकै भावुक बन्छौँ । संवेदित बन्छौँ । जसरी कोकोको मृत्युमा हामी भयौँ तर अर्काको परिवारको निकट व्यक्तिको मृत्युमा समेत हामी संवेदनहीन बन्छौँ । बने पनि देखावटी संवेदना बोकेर हिँड्छौँ । यही त मानिसको नियति रहेछ ! प्रकृतिको लीला अपरम्पार छ । प्रकृतिले हामीलाई जीवन दियो । जीवन बाँच्नका लागि एक एक आवश्यकताको परिपूर्ति गरिदियो । मानव जीवनका लागि आवश्यक पर्ने एक एक वस्तु प्रकृतिले नै दिएको छ । मानिसका लागि मात्र होइन, चराचर जगत्का हरेक प्राणीका लागि आवश्यक पर्ने वस्तु प्रकृतिले दिएको छ तर त्यसको हामी मानिसले उपयोग होइन, दुरुपयोग गरिरहेका छौँ । 

मानिसलाई प्रकृति होइन, कृत्रिमता चाहिएको छ । कृत्रिम जीवन बाँच्न मानिस अभिशप्त छ । माटो छुनुका डरले मानिस कङ्क्रिटको साम्राज्य खडा गरिरहेको छ ।

जीवनका लागि अति आवश्यक पर्ने पञ्चतत्व हावा, पानी, माटो, आगो र आकाश मानव निर्मित होइनन् । यी चिज हामीलाई प्रकृतिले नै दिएको हो । ती कुराको अलिकति पहिचानसम्म मानिसले गर्न सकेको छ तर त्यसको सही उपयोग गर्नबाट मानिस अहिले पनि वञ्चित छ । यी वस्तुलाई आवश्यकताका आधारमा ग्रहण गर्नुको साटो हामीले यिनीहरूमाथि कब्जा जमाउन खोजिरहेका छौँ । हामी हावा, पानी र आगो बोतल र सिलिन्डरमा भरेर बेचिरहेका छौँ । आकाश र जमिन तेरो र मेरो नाममा विभाजित गरिरहेका छौँ । 

हामीलाई कुनै पनि कुरा अरूलाई देखाउनु छ । म कति शक्तिशाली ? म कति सम्पन्न ? म कति 

लोकप्रिय ? म कति उच्च ओहदामा ? हामीलाई यिनै कुरा प्रदर्शन गर्नु छ । प्रकृतिले हामीलाई मानिसका रूपमा जन्म दिएको छ तर हामी मानिस हुनुको पहिचान गुमाएर अन्य पहिचान खोज्दै हिँडिरहेका छौँ । मानिसलाई सर्वश्रेष्ठ प्राणी मान्छौँ हामी तर मलाई लाग्छ, मानिस जस्तो सर्वश्रेष्ठ पशु सायद पृथ्वीमा अर्को प्राणी छैन । मानिसबाहेक कुनै पनि प्राणी प्रकृतिको नियमविरुद्ध गएको पाइँदैन । मान्छे मात्र यस्तो प्राणी हो जसले हर क्षण प्रकृतिलाई नै चुनौती दिइरहेको छ । प्रकृतिमाथि विजय प्राप्त गर्ने लालस बोकिरहेको छ, जुन कहिल्यै सम्भव छैन ।

मृत्यु प्रकृतिको एउटा महान् सत्य हो । जसलाई हामी छाया जस्तै जीवनमा बोकेर हिँडिरहेका छौँ तर यसलाई अनुभूत गर्ने कुरामा हामी डराइरहेका छौँ । जीवनमा जन्म नै मृत्युका लागि भएको हो । हरेक जीवित प्राणी प्राकृतिक जीवन बाँच्ने हो भने उसले मृत्युलाई पनि सहज ढङ्गले ग्रहण गर्न सक्ने छ । प्रकृतिमा मानिसबाहेकका अन्य कुनै पनि प्राणी सायद मृत्युदेखि डराउँदैनन्, भाग्दैनन् । मानिस आखिर मृत्युदेखि भागे पनि एक दिन त्यसको मुखमा पुगेरै छाड्छ । 

मानिस अहोरात्र मृत्युलाई जित्ने चेष्टा गरिरहेको छ, प्रकृतिलाई जित्ने चेष्टा गरिरहेको छ, जुन कदापि सम्भव छैन ।