• २३ जेठ २०८२, शुक्रबार

गोलिया काठ निकासीमा प्रतिबन्ध

blog

फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २१ गते । ताप्लेजुङका स्थानीय तहले वर्षायाम सुरु भएसँगै गोलिया काठ निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका छन् । बर्खायाममा वजनदार ट्रक वा ट्याक्टरमार्फत गोलिया काठ निकासी गर्दा ग्रामीण सडक क्षतिग्रस्त हुने भन्दै स्थानीय तहले निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका हुन् । 

सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले जेठ १५ देखि आगामी भदौ मसान्तसम्म गोलिया निकासी गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सूचना जारी गर्दै वर्षाको समयमा हुन सक्ने बाढीपहिरोको जोखिम तथा मोटरबाटो क्षतिलाई न्यूनीकरण गर्न गोलिया निकासीमा प्रतिबन्ध लगाएको उल्लेख गर्नुभएको छ । 

नगर कार्यपालिकाको निर्णय अनुसार मुख्य सडकबाहेक नगरपालिकाभित्रका ग्रामीण तथा कृषि सडकमा आगामी भदौ मसान्तसम्म गोलिया काठ निकासी, ओसारपसार र ढुवानी गर्नमा प्रतिबन्ध गरिएको सूचनामा उल्लेख छ । 

यस्तै सिरिजङ्घा गाउँपालिकाले पनि जेठ १८ पछि बर्खाभर गोलिया ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।  गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले गोलिया ढुवानी गर्दा कच्ची ग्रामीण सडक बिग्रने, भत्किने, खाल्डो पर्ने र पहिरो जाने जस्ता समस्या आउने भएकाले काठ निकासी तथा ढुवानी गर्न प्रतिबन्ध लगाएको उल्लेख गर्नुभएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिकाले पनि आउँदो असार १ देखि गोलिया काठ निकासी तथा ढुवानी गर्न प्रतिबन्ध गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमद्वारा जारी सूचना अनुसार ग्रामीण सडक क्षतिग्रस्त हुने अवस्थालाई दृष्टिगत गरी गोलिया निकासीमा प्रतिबन्ध लगाइएको हो । 

गाउँपालिकाले गोलिया निकासी तथा ढुवानी गर्नैपर्ने भए सम्बन्धित व्यवसायी वा गोलिया निकासी गर्ने व्यक्तिलाई जेठ मसान्तसम्ममा निकासी गरिसक्नका लागि समय पनि उपलब्ध गराएको छ । असार १ देखि भने अर्को सूचना नहुँदासम्मका लागि गोलिया काठ निकासीमा पूर्ण प्रतिबन्ध लगाएको गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ ।

ताप्लेजुङमा ग्रामीण तथा कृषि सडक प्रायः कच्ची छन् । कच्ची अवस्थाका सडकमा बर्खामा वजनदार ट्रक तथा ट्याक्टरले सडक क्षतिग्रस्त भई यातायात सञ्चालनमा अवरोध पुग्ने हुँदा स्थानीय तहले बर्खा मौसममा गोलिया ओसारपसार गर्न प्रतिबन्ध लगाउने गरेका छन् ।