काठमाडौं, जेठ २१ गते । नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको छ ।
नेपाल ‘ए’ का सद्भाव र राहुल विश्वकर्माले ३६ होलको समाप्तिमा २४ अण्डर २ सय ६४ को स्कोरमा स्वर्ण जितेको हो । गोकर्ण गल्फ क्लवमा आज सद्भावले १२ अण्डर ६० को स्कोरमा नयाँ कोर्स रेकर्ड बनाए । राहुलले आज ४ अण्डर ६८ स्कोर गरे । नेपाल ‘ए’ ले आज १६ अण्डर १ सय २८ को स्कोर गर्दा भूटानलाई २४ स्ट्रोकको फराकिलो अन्तरले हरायो ।
निम दोर्जी तामाङ र डेचेन लेण्डुपको भूटानी टिम काउन्ट ब्याकमा दोस्रो भयो । भूटान र बङ्गलादेश इभन–पार २८८ मा बराबरी भएपछि काउन्ट ब्याकमा नतिजा निकालिएको हो।सफिकुल इस्लाम र मोहम्मद सहाब उद्दीन सम्मिलित बङ्गलादेशको टिमले कास्य पदक हात पारेको छ ।
च्याम्पियनसिपको दोस्रो दिन व्यक्तिगत स्पर्धामा नेपालका सद्भाव आचार्य शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । ३६ होलको समाप्तिमा समग्रमा १८ अण्डर १ सय २६ को स्कोरमा सद्भावले भारतका सुमित कोटवाललाई ८ स्ट्रोकले पछि पारेका छन् ।
सद्भावले १२ अन्डर ६० को सानदार स्कोरमा प्रोफेसनल गल्फर शुक्रबहादुर राईको नाममा रहेको ११ अण्डर ६१ को रेकर्ड तोडेका हुन् । शुक्रले सन् २०२३ को सूर्य नेपाल सेन्ट्रल ओपनमा सो रेकर्ड बनाएका थिए ।
कोर्स रेकर्ड बनाउने क्रममा सदभावले १२ बर्डी प्रहार गरे । फ्रन्ट र ब्याक नाइन दुवैमा ६ अण्डर ३० को स्कोर निकाले । सद्भावले पहिलो होलमा बर्डी प्रहार गर्दै दोस्रो दिनको शुरूवात गरे । यसपछि तेस्रोदेखि छैटौं होलमा लगातार ४ र नवौं होलमा पनि अर्को बर्डीको सफलता प्राप्त गरे ।
तीन दिने ५४–होलको प्रतिष्पर्धामा नेपालसहित दक्षिण एशियाका बङ्गलादेश, भूटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागीता रहेको छ। यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ र्याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्याङ्किङ अंक समेत प्राप्त गर्नेछन् ।