इतिहासले उनलाई महान् फुटबलर भनेरै चिन्दछ। जब उनी तीन वर्षका भए तब उनका भाइले उनलाई फुटबल उपहार दिएका थिए। त्यो बलसँग उनको लगावको सीमा रहेन, छ महिनासम्म सो बल सिरानीमा राखेर उनी सुते। तिनै बालक पछि विश्व प्रसिद्ध भए, डियगो म्याराडोना उनको पहिचान बन्यो।  
१० वर्षको उमेरमै म्याराडोनाले रोजा एस्ट्रेला क्लबका लागि खेलेका थिए। १५ वर्षको हुँदा उनले अर्जेन्टिनोस जुनियर्सका लागि व्यावसायिक खेल जीवन सुरु गरे। 
उनको जन्म अर्जेन्टिनाको ब्युनर्स आयर्सको एक गरिब बस्तीमा भएको थियो। बाबु डन डियगो र आमा साल्चाडोरा फ्रयाङ्कोबाट तीन छोरीको जन्म भएपछि म्याराडोना जन्मिएका थिए। त्यसपछि लगातार भाइबहिनी जन्मिँदा म्याराडोनाको परिवारमा कुल आठ भाइबहिनी भए। सन् १९८१ मा उनले बोका जुनियर्सबाट खेले। त्यसको एक वर्षपछि उनले बोका जुनियर्सका लागि पहिलो उपाधि जिते। सन् १९८२ मा स्पेनी क्लब बार्सिलोनाबाट उनले खेल्ने अवसर पाएका थिए।
बार्सिलोनाले त्यतिबेला कीर्तिमान ७३ लाख अमेरिकी डलर खर्च गरेर उनलाई टिममा ल्याएको थियो। त्यहाँ रहेर उनले बार्सिलोनालाई तीन उपाधि दिलाए। रात्रिकालीन जीवन मन पराउने उनको प्रशिक्षकसँग निरन्तर बेमेल भएपछि कीर्तिमान डेढ करोड डलर रकममा उनी इटालीको नापोली पुगे। लिगमा कमजोर प्रदर्शन गरिरहेको नापोली म्याराडोना आएपछि एकाएक चम्कियो। नापोलीले सन् १९८७ र १९९० मा इटालियन सिरी ‘ए’ नै जित्यो। म्याराडोनाको नेतृत्वमा नापोलीले विश्वको प्रतिष्ठित फुटबल लिग यूईएफए कप पनि जितेको थियो।
म्याराडोनाले छाडेपछि नापोली फेरि माथि उठ्न सकेन। उनको निधनमा नापोलीले शोक मनायो। त्यहाँका मेयरले नापोलीको रङ्गशाला सान पाओलोलाई म्याराडोनाको नाम राख्ने प्रस्ताव गरेसँगै उनको नामबाट रङ्गशालाको नामकरण गरिएको छ।
म्याराडोनालाई अर्जेन्टिनाले सन् १९७७ मा राष्ट्रिय टिममा समावेश गरिएको थियो तर सन् १९७८ को विश्वकपमा उनलाई बच्चा भन्दै खेलाइएन। त्यही वर्ष अर्जेन्टिनाले पहिलो पटक विश्वकप जितेको थियो। सन् १९८२ मा गत विजेताका रूपमा अर्जेन्टिना विश्वकपमा उत्रियो। म्याराडोना पनि थिए। यो विश्वकप जित्नेमा अर्जेन्टिना ढुक्क थियो। पहिलो चरणमा म्याराडोनाले हङ्गेरीविरुद्ध दुई गोल गरे तर दोस्रो चरणबाटै अर्जेन्टिना बाहिरियो।
सन् १९८६ को विश्वकपमा अर्जेन्टिना म्याराडोनाको नेतृत्वमा खेलेको अर्जेन्टिनाले विश्वकप जित्यो। क्वाटरफाइनलमा इङ्ग्ल्यान्डविरुद्धको खेलमा म्याराडोनाले दुई गोल गरे। त्यही दुई गोल विश्व प्रसिद्ध छन्। पहिलो गोललाई ‘ह्यान्ड अफ गड’ भनिन्छ। म्याराडोनाले हातले गोल गरेको आरोप इङ्ग्ल्यान्डले लगायो।
पहिलो गोल विवादित बने पनि त्यही खेलमा उनले नौ जना बेलायती खेलाडीलाई छलाएर सेन्टरबाट बल लगेर गरेको गोल अद्वितीय नै थियो। त्यस दोस्रो गोललाई २०औँ शताब्दीको उत्कृष्ट गोल भनिएको छ। सो विश्वकपका सर्वोत्कृष्ट खेलाडी घोषित भए म्याराडोना। पाँच गोल गरेका म्याराडोनाले गोल्डेन बल अवार्ड पनि जिते।
म्याराडोनाले राष्ट्रिय टिमबाट ९१ खेल खेल्दै ३४ गोल गरेका थिए। म्याराडोनाले ३७ वर्षको उमेरमै खेलबाट सन्न्यास लिए।
उनले प्रशिक्षणको जिम्मेवारी पनि सम्हाले तर सफल भएनन्। दुई वर्ष अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रशिक्षक भएका म्याराडोना टिम लिएर सन् २०१० को विश्वकपमा गएका थिए। अर्जेन्टिनाले विश्वकप जित्ने अनुमान गरियो तर सफलता मिलेन।
फुटबलको मायाले म्याराडोनाले एक खेलाडीले पाउनुपर्ने सबै सफलता हासिल गरे। उनको गोललाई ‘गोल अफ द सेन्चुरी’ नै भनियो। उनको गोललाई ‘ह्यान्ड अफ गड’ को उपाधि दिइयो।
सन् १९८६ को विश्वकप म्याराडोनाकै नेतृत्वमा अर्जेन्टिनाले जित्यो। उनी फिफा प्लेयर अफ द सेन्चुरी पनि चुनिए। यो अवार्ड उनले अर्का फुटबल हस्ती पेलेसँग साझा गरेका थिए।
म्यारोडोनाको निधन भएको दुई वर्ष भएको छ। २०७७ साल मङ्सिर १० गते म्याराडोनाले भौतिक संसारबाट बिदा लिएका थिए। उनको निधनमा अर्जेन्टिनामा तीन दिन शोक घोषणा गरिएको थियो।
राजधानी ब्युनर्स आयर्सको बाहिरी इलाकामा रहेको बेला भिष्टा अन्त्येष्टि स्थलमा म्याराडोनाका बाबुआमाको समाधिको छेउमै उनलाई पनि समाधिस्थ गरिएको थियो। मात्र ६० वर्षको उमेरमा उनको निधन भयो तर उनले सधैँ फुटबललाई केन्द्रमा राखेर जीवन बाँचे। म्याराडोना विद्रोही मिजासका थिए । उनी अमेरिकी नीतिको विरोधमा उत्रिए र आफूले चाहेको जीवन बाँचे। उनका बयान गरिबका पक्षमा आउँथे र वाम विचारधाराबाट उनी प्रभावित देखिन्थे।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                