• १३ कात्तिक २०८२, बिहिबार

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

blog

काठमाडौँ, कात्तिक १३ गते । अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेटका लागि काठमान्डु गोर्खाजमा आवद्ध हुनुभएको छ । 

काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीको रुपमा ३४ वर्षे मिलिन्दलाई अनुबन्ध गरेको हो । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई अनुबन्ध गरिसकेको छ  । 

मिलिन्द हाल उत्कृष्ट लयमा हुनुहुन्छ । दुबईमा भइरहेको नेपाल सम्मिलित विश्वकप लिग-२ मा  उहाँले  नेपालविरुद्ध ५० बलमा ७० र यूएईविरुद्ध ८१ बलमा ७१ रन बनाउनुभएको थियो । 

दिल्लीबाट उहाँले २०११ मा रणजी ट्रफीमा ‘डेब्यु’ गर्नुभएको थियो । त्यसपछि उहाँले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेल्नुभयो । 

मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश हुनुहुन्थ्यो । सन् २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उहाँलाई लिएको थियो । तर उहाँले आईपीएलमा खेल्न भने पाउनुभएन । 

२०२१ मा उहाँ माइनल लिग क्रिकेट हुदैं अमेरिकी क्रिकेटमा स्थापित हुनुभएको थियो । उहाँ हाल चलिरहेको विश्वपक लिग २ मा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा हुनुहुन्छ ।