यस पटक पनि केही यस्ता टिम छन् जसमा क्षमता, समर्थक, विश्वस्तरीय खेलाडी सबैथोक हुँदाहुँदै पनि मन कुँड्याउन बाध्य छन्। विश्वकप खेल्ने अपेक्षा गरिएका तर छनोट हुन नसकेका टिम यस प्रकार छन् :
इटाली
विश्व फुटबलको एक शक्ति इटाली लगातार दोस्रो पटक विश्वकपमा चयन हुन असफल भयो। जुन कसैले पनि सोचेका थिएनन्। विश्वकप २०२२ मा छनोट हुन नसक्ने सबभन्दा चर्चित टिम हो इटाली। इटालीले चार पटक विश्वकप जितेको छ। ब्राजिल र इटालीले मात्र लगातार दुई पटक विश्वकपको उपाधि जितेको इतिहास छ।
सन् १९३४, १९३८, १९८२ र २००६ को विजेता इटालीले लामो समयदेखि आफूलार्ई फुटबल महाशक्तिका रूपमा स्थापित गरेको छ।
सन् २०१८ मा इटाली चयन नहुँदा विश्व फुटबल नै आश्चर्यचकित भएको थियो तर त्यसपछि युरो च्याम्पियन भएर इटालीले धेरै हदसम्म आफ्ना आलोचकलाई चुप गरायो।
इटाली लगातार ३७ खेलमा अपराजित रहेर युरो च्याम्पियन बनेको थियो तर आश्चर्य त्यसको आठ महिनापछि नै युरोपको फुटबल च्याम्पियन इटाली विश्वकपमा चयन हुन असफल भयो। युरोपेली प्लेअफमा तुलनात्मक रूपमा कमजोर मानिएको उत्तरी मेसिडोनियासँग १–० ले पराजित भएपछि इटालीले कतारमा हुने विश्वकप २०२२ मा खेल्ने सपना तुहियो।
रुस
आन्तरिक विवाद र अन्तर्राष्ट्रिय जगत्को राम्रो साथ नहुँदा पनि रुसले पछिल्लो विश्वकफको सफल आयोजना गरेको थियो। रुसले पूर्वच्याम्पियन स्पेनलाई हराएर घरेलु मैदानमा क्वाटरफाइनलसम्म स्थान पनि बनायो। सो समय घरेलु टिम सहभागी ३२ मध्ये दोस्रो सर्वाधिक कम वरीयताको टिम थियो तर रुसले मन जित्ने फुटबल खेल्यो। तत्कालीन उपविजेता क्रोसियासँग टाइब्रेकरमा हारेपछि मात्र रुसको विश्वकपमा शानदार यात्रामा पूर्णविराम लागेको थियो।
तर यसपालि रुसको वरीयता राम्रो थियो। छनोट चरणमा रुस एक अङ्कले क्रोसियासँग पछाडि रहेर प्लेअफका लागि चयन पनि भएको थियो तर युक्रेन युद्धका कारण फिफा र यूईएफएले रुसलाई सहभागिताबाटै वञ्चित गरे। रुसले प्रतिबन्धको विरोधमा खेलकुदको मध्यस्थता गर्ने अदालतमा अपिल पनि ग¥यो, जुन सफल हुन सकेन।
रुससँग प्लेअफ खेल्न तयार पोल्यान्डले बाई पाएर अगाडि बढ्यो। त्यसपछि पोल्यान्ड स्विडेनलाई हराएर विश्वकपमा पनि चयन भएको छ। यसरी राजनीतिक कारणले विश्व फुटबलमा पहिचान बनाएको रुसको खेल यस पटकको विश्वकपमा हेर्न नपाइने भएको छ।
नाइजेरिया
नाइजेरियालाई विश्वकप उपाधि जित्ने टिमका रूपमा हेरिँदैन तर नाइजेरियाबिनाको विश्वकप खल्लो पक्कै हुनेछ। पछिल्ला सातमध्ये छ विश्वकपमा सहभागी टिम हो नाइजेरिया। यस पटक अन्तिम बाधाका रूपमा रहेको घानासँगको दुई लेगको प्लेअफमा पराजित भएपछि नाइजेरियाले कतारको टिकट पाउन सकेन।
विश्व फुटबलमा नाइजेरिया सुपर इगलका रूपमा पनि प्रख्यात छ। नाइजेरियाले विश्वकप छनोटको दोस्रो क्वालिफायर्स पनि शीर्ष स्थानमा रहेर सजिलै पार गरेको थियो। फाइनल चरणमा पुग्न उसले छमध्ये चार खेल पनि जित्यो तर त्यसपछिको प्लेअफमा नाइजेरियाले दुवै खेल घानासँग बराबरी खेल्यो। नाइजेरिया विपक्षीको मैदानमा भएको गोलका आधारमा छनोट हुन सकेन। नाइजेरियामा भएको दोस्रो खेल १–१ को बराबरीमा सकिएपछि घाना भाग्यमानी भएको थियो।
चिली
चिली सन् १९३० देखि विश्वकपमा खेल्ने टिम हो। सन् १९६२ मा चिलीले विश्वकप आयोजना पनि गरेको थियो। त्यसबेला चिली तेस्रो भएको भयो। रुस विश्वकपलाई छोड्ने हो भने त्यसअघिका तीन संस्करणमा चिली नकआउट चरणमा पुगेको थियो। धेरै वर्ष भएको छैन चिलीले ब्राजिल, अर्जेन्टिना र कोलम्बियाजस्ता टिमबीच कोपा अमेरिकाको उपाधि लगातार दुई पटक जितेको थियो।
क्लाउडिया ब्राभो, एलेक्सिज सान्चेज, आर्टुरो भिडाल, इडुवार्डो भर्गास, माउरिसियो इस्ला जस्ता विश्वस्तरीय फुटबलर सामेल चिली त्यसबेला गोल्डेन जेनेरेसनमा थियो। जसमध्ये एलेक्सिज सान्चेज, आर्टुरो भिडाल, इडुवार्डो भर्गास अझै पनि टिममा रहेका छन्। विश्वकपमा सन् १९९८, २०१० र २०१४ मा चिलीले नकआउट चरणमा खेलेको थियो तर यस पटक छनोट चरणमा चिलीको प्रदर्शन सम्झनलायक थिएन।
कोलम्बिया
कोलम्बिया पनि विश्वकप फुटबल २०२२ मा नखेल्ने ठूलो टिममध्ये एक हो। यसपालि दक्षिण अमेरिकी समूहमा कोलम्बिया शीर्ष पाँचमा पुग्न सकेन। पेरुसँग एक अङ्कले पछाडि पर्दा कोलम्बिया इन्टर कन्फडरेसन्स प्लेअफ खेल्नबाट वञ्चित बनेको थियो। कोलम्बियामा प्रतिभाको कमी नहुँदा पनि विश्वकप छनोटमा कमजोर प्रदर्शन साँच्चिकै आश्चर्यजनक विषय थियो। कोलम्बियामा अहिले पनि लुइस डियाज, ह्यामेस रोड्रिगेज र हुँवा क्वाड्राडोजस्ता विश्वस्तरीय खेलाडी छन्।
फिफा विश्व वरीयता हेर्ने हो भने कोलम्बिया १९औँ स्थानमा रहेको छ। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा यात्रा टुङ्गिनुअघि कोलम्बियाले विजेता बन्ने नै लक्षण देखाएको थियो। गत संस्करणमा पनि कोलम्बिया नकआउट चरणसम्म पुग्यो।
–प्रजित शाक्य