• १२ साउन २०८१, शनिबार

उद्योग दर्ता आधा घट्यो

blog

काठमाडौँ, मङ्सिर ७ गते  । चालू आर्थिक वर्ष २०७९/८० को चार महिनामा (साउन–कात्तिक) उद्योग दर्ता आधाले घटेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म ६८ वटा उद्योग दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा १३४ उद्योग दर्ता भएका थिए । 

यस वर्ष २८ वटा ठूला उद्योग, २५ वटा मझौला र १५ वटा साना उद्योग दर्ता भएका छन् । ती उद्योगबाट चार हजार ९३५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । गत वर्ष सोही अवधिमा ठूला उद्योग ३९, मझौला उद्योग ४९ र साना उद्योग ४६ गरी १३४ वटा उद्योग दर्ता भएका थिए । ती उद्योगमा एक खर्ब ५१ अर्ब ८५ करोड रुपियाँ लगानी प्रतिबद्ध भएको थियो । ती उद्योगबाट १२ हजार २३५ जनालाई रोजगारी उपलब्ध गराइने अनुमान थियो ।  

चालू आवमा दर्ता भएका उद्योगमा ९६ अर्ब १६ करोड ५८ लाख रुपियाँ बराबरको स्वदेशी लगानी प्रतिबद्धता जनाएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा एक खर्ब ३४ अर्ब ८६ करोड ९४ लाख रुपियाँ बराबरको स्वदेशी लगानी प्रतिबद्धता आएको थियो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उद्योग सभापति भरत आचार्यले बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव र बढ्दो ब्याजदरका कारण नयाँ उद्योग दर्ता कम भएको जानकारी दिनुभयो । लगानीकर्तासँग लगानी गर्ने रकम नहुँदा उद्योग दर्तामा कमी आएको उहाँले बताउनुभयो । 

उत्पादनमूलक, पर्यटन र ऊर्जामूलक उद्योग दर्ता अन्यको तुलनामा बढी रहेको विभागको तथ्याङ्कले देखाएको छ । चालू आवको चार महिनामा कृषि तथा वन पैदावारमा आधारित तीन, ऊर्जामूलक १६, सूचना प्रविधिमा आधारित दुईवटा उद्योग दर्ता भएका छन् । उत्पादनमूलक उद्योग २१, खनिज एक, सेवामूलक आठ र पर्यटन उद्योग १५ वटा छन् । 

गत आवको पहिलो चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा ऊर्जामूलक क्षेत्रको लगानी तीन अर्ब रुपियाँले घटेको छ । यस्तै सेवामूलक क्षेत्रमा करिब नौ अर्ब रुपियाँको गिरावट आएको छ । चालू आवको पहिलो चार महिनामा ऊर्जामूलक क्षेत्रका २१ परियोजनामार्फत ६६ अर्ब ४८ करोड रुपियाँ लगानी प्रतिबद्धता आउँदा सेवामूलक क्षेत्रका १४ परियोजनाबाट जम्मा आठ अर्ब २७ करोड रुपियाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ । विभागका अनुसार गत आवको पहिलो चार महिनाको तुलनामा चालू आवको पहिलो चार महिनामा उत्पादनमूलक क्षेत्रको लगानी प्रतिबद्धता २४ अर्ब ४६ करोड रुपियाँले घटेको छ । गत आवको पहिलो चार महिनामा उत्पादनमूलक क्षेत्रका ५० परियोजनामार्फत ३३ अर्ब ६५ करोड ९६ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा यस वर्षको सोही अवधिमा भने जम्मा नौ अर्ब १९ करोड ८६ लाख रुपियाँ मात्रै लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।