• १२ मंसिर २०८१, बुधबार

किसानको ध्यान किवीमा

blog

रेखीराम राना

पाल्पा, मङ्सिर ७ गते । पाल्पाका किसान परम्परागत खेती छाडेर किवी खेतीमा आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा किवी खेतीबाट राम्रो फाइदा लिन सकिने भएकाले यहाँका किसान किवी खेतीमा आकर्षित भएका हुन् । 

किवी खेतीबाट राम्रो फाइदा भएपछि यहाँका किसान कोदो, मकै, गहुँ तथा तोरी खेती छाडेर किवी खेतीमा लागेका हुन् । “परम्परादेखि मकै, कोदो, गहुँ तथा तोरी लगाउने बारीमा अहिले किवीका बोट लगाएका छौँ,” पूर्वखोला–२, जल्पाका किसान मीनादेवी मगरले भन्नुभयो, “मकै र तोरीबाट भन्दा किवीबाट १० गुणा फाइदा हुने रहेछ ।”

किवी खेतीका लागि उपयुक्त भूगोल र हावापानीले यहाँका किसानलाई साथ दिएको छ । “मकै लगाउँदा बाँदरको आक्रमण सहनुपर्ने र मकै नफल्ने समस्या थियो,” पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारूले भन्नुभयो, “किवी खेती लगाएपछि किसानलाई फाइदा राम्रै भएको छ ।” सात वर्षअघि गाउँका केही युवाले किवी खेती गरेर राम्रो फाइदा गरेपछि जल्पामा अहिले सामूहिक किवी खेती सुरु भएको सारूले जानकारी दिनुभयो । 

किवी खेतीबाट राम्रो फाइदा हुने देखेर जल्पाका महिलाले २५ रोपनी जग्गामा एक हजार बोट किवीको सामूहिक खेती गरेको उहाँले बताउनुभयो । सामूहिक किवी खेतीका लागि पालिकाले आवश्यक तालिम, बीउ तथा प्राविधिक सहयोग गरेको छ । दुई वर्षअघि लगाएको किवीले यस वर्षदेखि नै फल दिन थालेको किसान बताउँछन् । एक पटक लगाएपछि पुन पटक–पटक दुःख गर्नु नपर्ने, बजारको खासै समस्या नहुने, अन्य खेतीबाट भन्दा राम्रो फाइदा लिन सकिने भएकाले किसान किवी खेतीतर्फ आकर्षित भएको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । 

यस्तै जिल्लाको माथागढी गाउँपालिकाका किसानसमेत किवी खेतीमा आकर्षित भएका छन् । जिल्लाको बहादुरपुर, कसेनीको ओलेस, रहबासलगायतका स्थानमा किसानले परम्परागत खेती छाडेर किवी लगाउन थालेका छन् । पुस्ताँैदेखि मकै, कोदो र फापर खेती गरेका यहाँका किसान अहिले किवीबाट राम्रो फाइदा लिएको बताउँछन् । अन्य खेतीबाट भन्दा किवी खेतीबाट नसोचेको फाइदा भएको स्थानीय अगुवा किसान कृष्ण सारूले बताउनुभयो । 

पहिले आफूले मात्र गाउँमा किवी खेती गरेको बताउँदै सारूले पछिल्लो समय गाउँका अन्य किसानले मकै खेती छाडेर किवी खेती गर्न थालेको बताउनुभयो । स्वस्थ एउटा किवीको बोटले दुई/तीन वर्षभित्रै आठदेखि १० किलोसम्म फल दिने किसान बताउँछन् । उत्पादन भएको किवी प्रतिकिलो चार सय रुपियाँदेखि छ सय  रुपियाँसम्ममा तानसेन र बुटवलमा बिक्री हुने गरेको यहाँका किसानको भनाइ छ ।