• ११ मंसिर २०८१, मङ्गलबार

म्याग्दीमा कांग्रेसको ८ सय मतको अग्रता

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), मङ्सिर ६ गते । म्याग्दीमा जारी मतगणनाअनुसार मङ्गलबार दिउँसो साढे ३ बजेसम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ५ हजार ५ सय ७० मत प्राप्त गर्नुभएको छ । 

यस्तै, प्रदेश निर्वाचन क्षेत्र नं ख को धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाको १ नम्बर वडाको मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीले ६ हजार ८ सय १० र नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजाले ६ हजार ७ सय ९३ मत प्राप्त गर्नुभएको छ । 

प्रदेश सभामा जुग्जाली र गर्बुजाको मतअन्तर जम्मा १७ छ । मङ्गलाका १,२,४ र ५ नम्बर वडाहरु नेकपा एमालेको गढ भएको मानिन्छ । ३ नम्बर वडा वंरजमा गठबन्धनले एमालेभन्दा धेरै मत पाउने अनुमान छ । 

धवलागिरि र मालिकामा गठबन्धनले प्राप्त गरेको अग्रता एमालेले मङ्गलामा आएर फर्काउने अनुमान एमालेले गरेको छ । मङ्गलबार साँझसम्मको मत परिणामलाई केलाउँदा प्रतिनिधिसभामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । प्रतिनिधिसभा तर्फ १ र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा  ८६ हजार एकसय २० मतदाता रहेकोमा ४९ हजार ८ सय ४२ मत खसेको थियो ।