• १२ साउन २०८१, शनिबार

खुम्बुबाट हेलिकप्टरमा ल्याइयो मतपेटिका

blog

फाइल तस्बिर

सन्तोष राउत

सोलुखुम्बु, मङ्सिर ५ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो ।

प्रनाउ शाहका अनुसार हेलिकप्टरमा प्रति पटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले चार पटकमा ल्याइएको हो । ११ वटा मतदान केन्द्र रहेको खुम्बुमा वडा नम्बर १ को खरिखोलाका दुईवटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी ल्याइएको छ भने नौवटा केन्द्रको ३६ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइएको हो ।

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हिमाली भेगमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पाँच हजार नौ सय ८७ मतदाता मध्ये दुई हजार ६४७ अर्थात् ४४.२१ प्रतिशत मत खसेको छ ।

लिखुपिके गाउँपालिकाबाट गाडीमा ल्याइएको तर आइपुग्न बाँकी रहेको र अन्य क्षेत्रका मतपेटिका गाडीबाट जिल्ला सदरमुकाम सल्लेरीको मतगणनास्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आठ पालिका भएको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोसी गाउँपालिकामा २६, माप्यदूधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा सात वटा मतदान केन्द्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुमा करिब ४८.३८ प्रतिशत मत खसेको छ ।