• २२ वैशाख २०८१, शनिबार

मतदान गर्न उमेरले छेकेन

blog

इलाममा मतदानमा सहभागी हुनुभएका ११५ वर्षीय मनबहादुर राई र उहाँको नागरिकता । तस्बिर : जिल्ला प्रहरी कार्यालय, इलाम।

काठमाडौँ, मङ्सिर ५ गते । यस पटकको निर्वाचनमा ज्येष्ठ नागरिक पनि उत्साहसाथ मतदानमा सहभागी हुनुभएको छ । सय वर्षभन्दा बढी उमेर भइसके पनि केहीले आफैँ निर्वाचनमा सहभागिता जनाउनुभएको छ । केहीले आफन्तको सहयोगमा मतदान केन्द्रसम्म पुगेर मतदान गर्नुभएको छ । 

इलाममा ११५ वर्षीय मनबहादुर राईले मतदान गर्नुभएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का राईले स्थानीय सिंहदेवी मावि सिकारी भञ्ज्याङको मतदान केन्द्रबाट मतदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामले  जनाएको छ । राई १९६४ सालमा साबिक एकतप्पा गाविस–५ मा जन्मनुभएको उहाँको नागरिकतामा उल्लेख छ ।

त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ की ११५ वर्षकी मनरानी आङ्देम्बेले पनि मतदान गर्नुभएको छ । उहाँले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । नागरिकताअनुसार उहाँको जन्म १९६४ साल जेठ ११ मा भएको हो । 

तनहुँमा पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा ११३ वर्षीया गोपीमाया पोख्रेलले मतदान गर्नुभएको छ । जिल्लाको भानु नगरपालिका–५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

तनहुँमा एक लाख १९ हजार ६५० जना पुरुष र एक लाख २८ हजार ८४५ जना महिला गरी कुल दुई लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् । तनहुँमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि निर्वाचनमा गठबन्धन र एमालेसहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

म्याग्दीमा एक १०७ वर्षीय जसमनी कामीले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र छन् । 

त्यसैगरी भक्तपुरका १०४ वर्षीय धनपति सुवेदीले पनि मतदान गर्नुभएको छ । उहाँले मध्यपुर ठिमीस्थित–३ स्थित आदर्श जनप्रेमी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

दार्चुलामा १०५ वर्षीय रघुवर पन्तले मतदान गर्नुभएको छ । उहाँले मालिकार्जुन गाउँपालिका–८, शङ्करपुर माध्यमिक विद्यालय पस्ती ‘ख’ मतदान केन्द्रमा मतदान गर्नुभएको हो । मकवानपुरमा १०१ वर्षीय सीतादेवी क्षेत्रीले मतदान गर्नुभएको छ । उहाँले हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो ।  पोखरा संवाददाताका अनुसार पर्वतको कुस्मामा ९० वर्षीय ओमनारायण श्रेष्ठले मतदान गर्नुभएको छ । उहाँले सोही नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयमा रहेको केन्द्र (ख)मा मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।