• १२ साउन २०८१, शनिबार

आर्थिक समस्याको समाधानका लागि निर्वाचनकै आशा

blog

विष्णुप्रसाद पोखरेल 

दमक, मङ्सिर ४ गते । झापा, दमकका सुनचाँदी व्यवसायी काशी खातीलाई अहिलेको आर्थिक सङ्कटबाट कसरी मुक्ति पाउने भन्नेमा चिन्ता छ। बैङ्कको ब्याज बुझाउनेदेखि ऋण र सापटी तिर्न पनि समस्या भइरहेको छ। निर्वाचनको समयमा बैङ्क तथा वित्तीय संस्थामा पैसा आउने र तरलताको समस्या समाधान हुने अनुमान उहाँको थियो, तर त्यस्तो भएन।

निर्वाचनको समय भए पनि दमकका धेरै व्यवसायी बैङ्कको बढ्दो ब्याज र आर्थिक सङ्कटको समाधानका लागि सडकमा आएर विरोधमा पनि उत्रिए। आर्थिक मुद्दा र अहिलेको समस्या समाधान गर्ने विषय उम्मेदवार र राजनीतिक दलले उठाउने अपेक्षा गरिएको भए पनि नआएको यहाँका व्यवसायीले बताउनुभयो।

दमक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले निर्वाचनपछि स्थिर सरकार बन्ने र अहिलेको आर्थिक सङ्कटबाट मुक्ति पाउने अपेक्षा रहेको बताउनुभयो। “निर्वाचनपछि पनि यस्तै अवस्था रह्यो भने त हामी व्यापार व्यवसायबाट नै विस्थापित हुनुपर्ने अवस्था आउँछ,” उहाँले भन्नुभयो।

किनबेच धेरै घटेको तर ब्याज भने धेरै बढेकाले समस्या भएको उहाँले बताउनुभयो। “स्थानीय निर्वाचनपछि बजार सहज होला भनेको त झनै अप्ठ्यारोमा पर्दै गयो। अब यो निर्वाचनपछि सहज होला कि भन्ने झिनो विश्वास छ,” उहाँले आशा व्यक्त गर्नुभयो। 

अर्का व्यवसायी सन्तोष अधिकारीको भनाइ पनि उस्तै छ। दमककै श्री शान्ति कोल्ड स्टोरेजका सञ्चालक अधिकारीका अनुसार समयमा किस्ता र ब्याज तिर्न नसक्दा बैङ्कले जरिवाना गर्ने गरेकाले मुस्किल भएको बताउनुभयो।

“राज्यले हामीजस्ताको समस्या समाधान गर्नेतर्फ ध्यान नदिँदा समस्या चर्केर गएको छ,” उहाँले भन्नुभयो। निर्वाचनपछि स्थिर सरकार आउने र व्यापार व्यवसाय गर्न सहज हुने आशा उहाँले व्यक्त गर्नुभयो। 

अर्का स्थानीय व्यवसायी विमल शर्माले एक वर्षअघिदेखि समस्या समाधान हुने अपेक्षामा रहेको बताउनुभयो।  सबैले निर्वाचनपछि सहज होला भन्ने गरेकाले आफूलाई पनि आशा जागेको उहाँले बताउनुभयो। “यो आर्थिक सङ्कटबाट व्यवसायीलाई राहत दिन निर्वाचनपछि बन्ने सरकार अग्रसर हुन्छ भन्ने आशा र विश्वास छ,” शर्माले भन्नुभयो।