• ११ मंसिर २०८१, मङ्गलबार

समाजवाद र शिक्षा

blog

समाज विकासको मेरुदण्ड हो शिक्षा। सुव्यवस्थित, मर्यादित र अनुशासित समाजका लागि शिक्षा नै पहिलो प्राथमिकता हो। नागरिकको हक सुरक्षित गर्दै हरेक नागरिकलाई समाजप्रति उत्तरदायी बनाएर आदर्श समाजको परिकल्पना असल र व्यावहारिक शिक्षाबिना सम्भव छैन । सबैलाई समान व्यवहार गर्दै म को सट्टा हामीको अवधारण विकास गर्ने सोच र चिन्तन हो समाजवाद। प्रतिस्पर्धा नभई एक अर्काप्रतिको आदर, विश्वास र सहयोगबाट सफलताको उचाइमा सँगै पुग्ने यात्रा हो समाजवादी यात्रा। व्यावहारिक तथा सीपमूलक शिक्षाबिना र शिक्षालाई सीप र श्रमसँग नजोडी समाजवादको यात्रा अघि बढ्न सक्दैन। 

समाजवादी अभियान थालनी गर्नुअघि नै शिक्षा लिनेदिने क्रममा हाम्रो विद्यमान पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन गर्नुपर्छ। भूगोलको वस्तुस्थिति र समाजको बनोटलाई केन्द्रबिन्दुमा राखेर पाठ्यक्रम बनाउनुपर्छ। पाठ्यक्रममा श्रम र सीपलाई प्राथमिकतामा राख्नुपर्छ। विश्वासको सट्टा विज्ञान र विवेकलाई अगाडि सार्नुपर्छ। आस्था राख्नु, आस्थावान हुनु गलत होइन तर कुनै पनि कुरालाई प्रमाणित गरेर मात्रै विश्वास गर्ने र त्यसलाई व्यवहारमा प्रमाणित गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता हो।

नेपालको संविधान २०७२ ले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्र्दै समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको छ। शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा राज्यको दायित्वधित्र पर्ने कुरा नै हुन्। नर्बे, स्वीडेन, डेनमार्क, फिनल्यान्डजस्ता समाजवादी देश मात्र नभई बेलायत, स्विट्जरल्यान्डजस्ता पुँजीवादी भनिने देशमा त शिक्षा र स्वस्थ्य राज्यको दायित्वभित्र छ भने शिक्षा र स्वस्थ्यलाई मौलिक हकका रूपमा उल्लेख गर्ने नेपालजस्तो समाजवादउन्मुख देशमा राज्यको दायित्व होइन र ? समाजवादी राष्ट्र क्युवा र चीनको संविधानमा समेत अनिवार्य र निःशुल्क शिक्षा उल्लेख छ। 

देश र जनताको सुरक्षाका साथै स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, सामाजिक सुरक्षा र मानवअधिकारको रक्षा राज्यको आधारभूत दायित्व हो भने नागरिकहरूको नैसर्गिक अधिकार हो। यसमा राज्य जिम्मेवार हुनुपर्छ। हाम्रो भूगोल र समाजको बनोटका आधारमा हामीले हाम्रो शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्नुपर्छ। हिमाल, पहाड र तराईको भौगोलिक बनावटमा एउटैखाले शैक्षिक पाठ्यसामग्री कामयावी हुनसक्दैन। चौँरी के हो ? यसको स्याहार सुसार कसरी गर्ने ? यसको दूधबाट के के 

बन्छन् ? भेडा र भेडाका ऊनको महत्व के छ ? यस्ता कुरामा हिमाली भेगका बालबालिका सक्षम भएनन् भने उनीहरूलाई शिक्षा दिनुको कुनै अर्थ छैन। प्रारम्भिक शिक्षादेखि नै हिमनदी, हिमाली जनावर, त्यहाँ पाइने जडीबुटी र त्यहाँको प्राकृतिक सम्पत्ति र हावापानीको बारेमा उनीहरूलाई पूर्ण जनकार बनाउँदै लानुपर्छ। 

हिमाली क्षेत्रका बालबालिकालाई ऊँट, जिराफ, बकुल्ला आदिका बारेमा सिकाउनुको अर्थ रहँदैन। समाज परिवर्तनको दिशाबोध गर्ने खालको शिक्षा लागू गर्दा प्रकृति, सामाजिक क्रियाकलाप, परियोजना कार्य र समाजका दैनिक क्रियाकलापमा घुलमिल गराएर सामाजिक समस्यामा केन्द्रित हुँदै त्यसको समाधानतिर जाने पद्धति अपनाउनुपर्छ। अनुसन्धानमूलक तथा व्यावहारिक ज्ञान र सीपमा आधारित हुँदै स्थानीय र वैश्विक ज्ञानलाई जोड्न सक्नुपर्छ। प्राविधिक शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादन र आविष्कारसँग जोड्न सकिएन भने त्यो शिक्षा उत्पादनमूलक हुँदैन।

शिक्षा र स्वास्थ्य व्यापार नभई सेवाका विषय हुन्। यी व्यापारको विषय बन्नु हुँदैन। निजी शिक्षण संस्था, निजी स्वस्थ्य संस्थालाई शिक्षा र स्वास्थ्यका नाममा व्यापार गर्ने छुट दिनु हुन्न। व्यापारीलाई व्यापार गर्ने अरू नै प्रशस्त वस्तु छन्। पर्यटनको व्यापार गरुन्, पशुधनको व्यापार गरुन्, घरेलु उत्पादन बढाएर कपडाको व्यापार गरुन् तर शिक्षा र स्वस्थ्यको व्यापार गर्ने छुट कसैलाई पनि दिनु हुँदैन। शिक्षा र स्वास्थ्य जनताको सबलीकरणको आधार हो। जनता जति शिक्षित हुन्छन् त्याति नै शक्तिशाली हुन्छन्। शिक्षित र स्वस्थ्य नागरिकले मात्र समाज परिवर्तनको रथ हाँक्न सक्छन्। पढेर मात्र हुँदैन व्यावहारिक ज्ञान र सीपबिनाको पढाइ काम लाग्दैन। शिक्षकलाई तालिम दिने, उत्प्रेरित गर्ने र शिक्षालाई आधारभूत सीप र ज्ञानसँग जोड्नासाथ सुधारको थालनी भइहाल्छ। पार्टीको नेता वा कार्यकर्तालाई शिक्षक हुनबाट रोक्नुपर्छ।  हाम्रा पुर्खाको परम्परागत जानकारी, पुरानो चिकित्सा प्रणाली, जडीबुटीजन्य उपचार विधि आदिलाई पूरै खारेजी वा बेवास्ता गर्नेखालको नास्तिक शिक्षाको पनि काम छैन। वनभरि पाइने तितेपाती, वनमार, हर्रो, बर्रो, अमला आदिको उपयोग गर्न नजान्ने मेडिकल शिक्षाले हाम्रो स्वास्थ्य स्थितिमा सुधार ल्याउँदैन। हाम्रो इतिहास, संस्कृति, वास्तुकला, चित्रकला आदि बारे अनुसन्धान नगरिने शिक्षाले हामीलाई उँभो लाँदैन। हामीले बालबालिकालाई हाम्रा वनजङ्गल, खोलानाला, ऐतिहासिक तथा पुराताìिवक सम्पदा र आफ्नो माटोको गुण नचिन्ने शिक्षा दिनुको अर्थ छैन। 

जातजाति, भेषभूषा र भाषा, धर्मसंस्कृति र जीवनपद्धतिभित्र घुल्न नसक्ने शिक्षाले हामीलाई हाम्रो गौरवको परिचय दिन सक्दैन। धार्मिक, सांस्कृतिक, भाषिक, भौगोलिक र जातीय विविधतायुक्त मुलुकमा सबैलाई एकैखालको पाठ्यक्रम र 

पाठ्यपुस्तबाट शिक्षा दिनु पनि उपयुक्त हुँदैन। जाति, भाषा, धर्म र संस्कृतिको विविधतायुक्त समाजमा फरक फरक विद्यालय र विश्वविद्यालय आवश्यक हुन्छ। एकअर्का प्रति अन्तक्रियात्मक सम्बन्ध बढाउने उच्चस्तरीय संयन्त्र चाहिन्छ। 

समाजवादी शिक्षाको मूल लक्ष्य नै मौलिक र भूगोलको आवश्यकता पूरा गर्ने खालको हुनुपर्छ। शिक्षाले आमनागरिकलाई जीवन जिउने कला, स्वतन्त्र अधिकारको रक्षा, आफ्नो कर्तव्य र अरूको सम्मानमा उत्प्रेरित गर्दै जनता र राष्ट्रप्रति माया गर्न सिकाउनुपर्छ। हाम्रोजस्तो वर्गीय समाजमा शिक्षाले भौतिकता, द्वन्द्ववाद र वर्गीय दृष्टिकोणलाई स्वीकार्न सक्ने हुनुपर्छ। समाजवादमा समाजका स्थानीय विषेशतालाई आधार मानेर विश्वव्यापीकरणलाई समेत आत्मसाथ गर्दै शिक्षालाई समान र जनमुखी बनाउन सक्नुपर्छ। शिक्षाको सम्पूर्ण दायित्व आफूमा निहित राखेर राज्यले ठूलठूला प्राविधिक विश्वविद्यालय खोल्ने, भौतिक पूर्वाधारको विकास गर्ने र नयाँ नयाँ अनुसन्धान केन्द्र खेलेर नयाँ ज्ञानको अविष्कार गर्दै त्यसको रक्षा, प्रयोग र विकास गर्दै सिकाइलाई श्रमसँग जोडेर लानुपर्छ। शिक्षा र श्रमका बीचको एकत्व कायम रहन सकेन भने छिटो काम खोज्ने र कामअनुसारको दाम लिइहाल्न नागरिकलाई उत्प्रेरित गर्दैन। यसका लागि शैक्षिक जनशक्तिलाई कृषि, वनजङ्गल, जडीबुटी, जलस्रोत, पर्यटन र खनिज पदार्थको पूर्ण जानकारी गराइ तिनीहरूको संवद्र्धन, विकास र सदुपयोग गर्न प्रेरित गर्नुपर्छ। समाजवादी शिक्षाले सचेत, कर्तव्यनिष्ठ, जिम्मेवार र अन्यायका विरुद्ध प्रतिरोध गर्नसक्ने नागरिक उत्पादन गर्नुपर्छ।

अहिले शिक्षा क्षेत्र पुँजीपति र दलाल पुँजीपतिको कब्जामा छ। शिक्षा र स्वस्थ्यमा उनीहरूकै हैकम छ। यिनीहरूमा दलाल पुँजीपतिको तीव्र प्रतिस्पर्धा चरम व्यापारीकरण छ। यस्तो खालको पुँजीवादी शिक्षा प्रणालीले मुठ्ठीभर पुँजीपति वर्गको मात्र सेवा गरिरहेको छ। सामान्य नागरिक तथा श्रमिक जनतालाई चेतनाहीन इमानदार नोकर बनाइरहेको छ। आफ्नो आवश्यकता र बजारमा आफ्नो माग पूरा गर्नसक्ने शिक्षा मात्र प्रयोगमा ल्याएको छ। यो विकृत पुँजीवादी शिक्षालाई समाप्त नगरी समाजवादी सोच, क्रान्ति र सोहीअनुसारको शिक्षा लागू गर्न सकिन्न। दलाल पुँजीवादलाई फ्याँक्नकै लागि पनि समाजवादी सङ्घर्ष र समाजवादी शिक्षालाई सँगै अघि बढाउनुपर्छ। दलाल पुँजीवाद या आर्थिक पुँजीवाद जे भनौँ पुँजीवादको मूल रूप वा चरित्र एउटै हुन्छ। 

असमानता, अस्थिरता, अशान्ति, युद्ध, हिंसा, अनिश्चयता पुँजीवादका स्थायी चारित्रिक गुण हुन्। पुँजीवादका यी चरित्रलाई समूल नष्ट गर्न पनि समाजवादी सोच र एजेन्डासहितको कठोर सङ्घर्ष र नागरिकको उन्नत शैक्षिक चेतना आवश्यक हुन्छ। शिक्षित र जागरुक समुदायको निरन्तरको पहलले मात्र पुँजीवाद र दलाल पुँजीपतिवर्गलाई कमजोर पार्न सकिन्छ। समाजवादी सङ्घर्षबाट मात्र दलाल पुँजीवादीको अन्त्य गर्न सकिन्छ। तब मात्र त्यसले समाजवादी शिक्षालाई सही बाटो दिँदै शिक्षा र स्वस्थ्य क्षेत्रको हब बन्नसक्ने अवसरलाई थप बल प्रदान गर्नसक्छ।