• ११ मंसिर २०८१, मङ्गलबार

अनर्गल प्रचारप्रति प्रेस सेन्टर, नेपालको आपत्ति

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ३ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवस्थामा नेकपा (एमाले)को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले स्थापित अनलाइन र पत्रिकाहरूको समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको भन्दै प्रेस सेन्टर, नेपालको ध्यानाकर्षण भएको जनाइएको छ ।

सेन्टरका अध्यक्ष विष्णु सापकोटाद्वारा शनिबार प्रकाशित विज्ञप्तिमा बस्नेतलगायतले सेतोपाटी, रातोपाटी, नयाँ पत्रिका, उज्यालो अनलाइन, लोकपाटीलगायतमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई स्क्रिनसट गरेर सामाजिक सञ्जालमा पोष्ट गरिएको उल्लेख छ ।

सो कार्य साइबर अपराध हुने विज्ञप्तिमा उल्लेख गर्दै पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उल्लङ्घन गरेको आरोप लगाउँदै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल, नेपाल र निर्वाचन आयोगद्वारा आवश्यक कारबाही गर्न प्रेस सेन्टर, नेपालले माग समेत गरेको छ ।

त्यस्ता गलत कुरामा विश्वास नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारमाध्यमका पाठक, दर्शक र स्रोताहरुलाई प्रेस सेन्टर, नेपाले अनुरोध समेत गरेको छ ।