• ११ मंसिर २०८१, मङ्गलबार

डोटीका १० मतदान केन्द्र अतिसंवेदनशील, दुई हजार २७३ सुरक्षाकर्मी परिचालन

blog

भगवतेश्वर माविमा रहेको अतिसंवेदनशील मतदान केन्द्र । तस्बिर – केशवचन्द्र महरा

केशवचन्द्र महरा 

दिपायल, मङ्सिर ३ गते । डोटीका १० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रुपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र १३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा छुट्याएको हो । 

सुरक्षा तथा विकटताकाको दृष्टिकोणबाट संवेदनशील, अतिसंवेदनशील र सामान्य गरी तीन वटा भागमा केन्द्रहरू छुट्याइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूचना अधिकारी दीपा जोशीले बताउनुभयो । मङ्सिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ती क्षेत्रहरूमा मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गर्ने उहाँले बताउनुभयो ।

जिल्लाको बडीकेदार, बोगटान र जोरायल गाउँपालिकाका केन्द्रहरू अतिसंवेदनशील केन्द्रमा परेको प्रशासकीय अधिकृत जोशीले बताउनुभयो । संवेदनशील र अतिसंवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्थाका लागि मोबाइल टोली पनि परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षाका लागि जिल्लामा ५३८ जना नेपाली सेना, ५६५ जना नेपाल प्रहरी, २०५ जना सशस्त्र प्रहरी, ९५३ जना म्यादी प्रहरी र १२ जना अनुसन्धानका गरी दुई हजार २७३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको टोलीले निर्वाचन क्षेत्र र मतदान केन्द्रको सुरक्षा र अन्य तयारीको अनुगमन गरिरहेको जनाएको छ ।

डोटीमा निर्वाचनका लागि ११५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित १७८ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी करुणाकर जोशीले बताउनु भयो । 

डोटीमा निर्वाचनका लागि एक हजार चार सय १४ जना कर्मचारी परिचालन गरिएको निर्वाचन अधिकारी जोशीले जानकारी दिनुभयो । जसमा एक सय ७८ जना मतदान अधिकृत, एक सय ७८ जना सहायक मतदान अधिकृत रहेका छन् भने अन्य शिक्षकसहित १ हजार पाँच जना खटिएका छन् । ४÷४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडाको रूपमा राखिएको छ ।