• १० मंसिर २०८१, सोमबार

खियाको बजार

blog

दिनेश चौधरी

 सभा चलिरहेको थियो । एक जना मानिस उठे र भन्न थाले– इन्जिनियरिङ आचारसंहिताले खिया लागेको डण्डी प्रयोग गर्नु हुँदैन भन्छ । मैले काठमाडौँ उपत्यकाभरि प्रायः पसल घुमेर सफा डण्डी खोजेँ तर कहीँ पाइएन, के गर्ने ? यसको जावाफमा विद्वान्ले भने– तारब्रसले सफा गरिदिनू । फेरि अर्का विद्वान्ले टोरकारी–साकारी डण्डीको गुणस्तरीयता र सावधानीबारे भन्न थाले– यो डण्डी धेरै बलियो छ तर ढलानभित्र सानो–सानो चिरा मात्र भयो भने त्यो चिरामार्फत जलयुक्त हावा प्रवेश भई सफा डण्डी पनि चाँडै खियायुक्त हुन जान्छ । 

प्रश्न गर्ने पहिलो मानिसले पुनः जिज्ञासा राखे– डण्डीको वरिपरि यति गहिरो खिया लागिसकेको हुन्छ कि तारब्रसले सफा हुनै सक्दैन । अर्को कुरा कङ्क्रिट मसला तयार गर्न मेसिन वा हात जेले फिटे पनि पानी नहाली फिट्ने चलन नै छैन । पानी, सिमेन्ट, गिट्टी, बालुवा आदि एकै पटक हालेर फिट्ने चलन छ; जसले गर्दा मसला राम्रोसँग तयार नभई कमसल खालको बन्छ । यस्तो कङ्क्रिटभित्र स–साना चिरा पर्न सक्छ । विज्ञबाट निर्देशन भयो कि यस्तो अवस्थामा यो डण्डी प्रयोग गर्न मिल्दैन ।

अर्को दिनको सभा सुरु भयो । एक जना सामान्य उपभोक्ताले आफ्नो जिज्ञासा व्यक्त गरे– डण्डीमा खिया र त्यसका कानुनबारे बताउनुहोस् जसले गर्दा हामी डण्डीलाई ठीक ढङ्गले प्रयोग गर्न सकौँ । विज्ञले भने– अङ्ग्रेजी भाषामा खिया लाग्ने क्रियालाई ‘कोरोजन’ र यसबाट निस्केको धुलोलाई ‘रस्ट’ भनिन्छ । यसलाई प्रयोग गरेर पनि हेर्न सकिन्छ । यसका लागि चारवटा बिर्काे भएको सिसाको सानो गिलास, फलामको धुलो पाँच सय ग्राम, क्याल्सियम क्लोराइड, खाने तेल, रुलर र भिनेगर आदि लिने । अब सिसाको पहिलो गिलासमा ठूलो चम्चाले एक चम्चा फलामको धुलो राख्ने । त्यसपछि फलामको धुलो छोपिने गरी पानी हाल्ने । बिर्कोलाई खुला गरी हावा जान दिने । सिसाको दोस्रो गिलासमा ठूलो चम्चाले एक चम्चा फलामको धुलो राख्ने । फलामको धुलोमाथि ठूलो चम्चाले एक चम्चा क्याल्सियम क्लोराइड राख्ने । हावा नपस्ने गरी बिर्को लगाउने । केही समय पर्खने । अब तेस्रो सिसाको गिलास लिने । यसमा सबभन्दा पहिले ठूलो चम्चाले एक चम्चा फलामको धुलो राख्ने । त्यसपछि फलामको धुलोलाई आधा इन्ची वा सोभन्दा बढी खाने तेल राख्ने । यसपछि सावधानीका साथ एक इन्ची जति पानी राख्ने । सिसाको बिर्कोलाई राम्ररी कस्ने । चौथो सिसाको गिलासमा पनि सबभन्दा पहिला ठूलो चम्चाले एक चम्चा फलामको धुलो राख्ने । फलामको धुलो छोप्नलाई पर्याप्त पानी हाल्ने । ठूलो चम्चाले एक चम्चा भिनेगर हाल्ने । बिर्को नलगाउने । 

अब चारवटा सिसाका गिलासमा भएको परिवर्तन हेर्न १२ देखि २४ घण्टासम्म लाग्न सक्छ । पहिलो र चौथो गिलासमा खिया देख्न सकिन्छ । दोस्रो र तेस्रो सिसाका गिलासमा खिया लागेको हुँदैन । पहिलो गिलासमा खिया फलामको धुलो माथि देखिन्छ किनभने यसमा खिया लाग्ने सबै कारक तìव हावाको माध्यमबाट अक्सिजन, पानी, फलामको धुलो मौजुद थियोे । दोस्रो गिलासमा क्याल्सियम क्लोराइडले भएको पानीलाई सुकाउँछ, जसले गर्दा पानीको अभावमा खियाको उत्पत्ति हुँदैन । तेस्रो गिलासमा तेलको घनतìव पानीभन्दा कम छ । तेलले सबैभन्दा माथिल्लो तहमा नै अक्सिजन पाउँदैन । अनि खियाको उत्पत्ति हुँदैन । चौथो गिलासमा खियाको उत्पत्ति हुने सबै कारक तìव हावा, पानी, भिनेगर, फलामको धुलो भएकाले सबैभन्दा बढी खिया यस गिलासमा देखा पर्छ । 

खिया कति हानिकारक हुन्छ, यसका विज्ञ एच.एस. गडियार भन्नुहुन्छ, “टर्कीमा गएको भूकम्पले यो प्रमाणित गरिदिएको छ कि विभिन्न तले हजारौँ भवन तासको पत्ताजस्तै लडेका थिए तर त्यहाँका मठ–मस्जिदमा कहीँ कहीँ सामान्य हानि पुगेको थियो । जब कि जापानजस्तो देश जहाँ भूकम्प सधँै आउने गर्छ, भवनहरू कहिलेकाहीँ कुनै खास अवस्थामा भत्कन्छन् । यसको मूल कारण डण्डीमा खिया लाग्नु र नलाग्नु हो । खियाको पहिलो स्रोत हो– भण्डार गर्ने ठाउँ । जस्तो कि चाङ लगाउनुभन्दा पहिले डण्डीलाई सिमेन्टको घोला लगाउनुपर्छ, जसले गर्दा डण्डीमा खिया वा अरू कुनै विकृति नआओस् । खियाको दोस्रो स्रोत हो– निर्माण स्थल । यहाँ पनि खिया वा अरू कुनै विकृति नआउने गरी राख्नुपर्छ । 

यसैगरी डण्डीको गुणस्तर कायम राख्ने सम्बन्धमा देशभित्र बनेका विभिन्न नियमको मुख्य उद्देश्य हो– उद्योगमा डण्डी÷तारलाई सकेसम्म सफा रहने गरी बेर्नुपर्छ र कथंकदाचित खिया आदि खराबी हुन गएमा तारब्रसले सफा गर्नुपर्छ तर खिया लागेका डण्डी÷तारलाई त्यसै छाड्न हुँदैन । यो साधारण खिया हो; जसलाई साधारण तरिकाले सफा गर्न सकिन्छ तर आमउपभोक्तामा खियायुक्त डण्डी प्रयोग गर्न मिल्छ, खियालाई सफा गर्नु पर्दैन भन्ने भ्रम पर्न गएकाले खियायुक्त अवस्थामा नै ढलान कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय इन्जिनियरिङ आचारसंहिताले गोदामदेखि निर्माण स्थलसम्म ढलान हुनुभन्दा अघि डण्डीको सफाइमा विशेष ध्यान दिनुपर्छ भनेर उल्लेख गरेको पाइन्छ । खियाले खियालाई बढाउने कार्य गर्छ । खियाको आयतन बढेर कङ्क्रिटलाई चिरा पार्छ । कङ्क्रिटमा चिरा पर्नु भनेको ढलान असफल हुनु हो । फेरि प्रतिदिन जलयुक्त हावाको प्रवेश भई खियाको आयतन बढेर चिराका चौडाइ पनि बढाउँछ । अनि डण्डी र कङ्क्रिटबीचका बन्धन कमजोर बन्छ । कमजोर संरचनामा भूकम्पीय धक्काले जोखिम बढाउँछ । 

अहिलेसम्म हामीलाई विदेशी होस् वा स्वदेशी; कसैले भनेनन् कि डण्डीमा खिया कसरी लाग्छ ? सफा डण्डी किन किन्ने ? तारब्रसले कसरी सफा गर्ने ? कुन डण्डीलाई उपयोग नगर्ने ? खियालाई कसरी सफा गर्ने ? कस्ता डण्डी पसलबाट खरिद गर्ने ? आदिबारेमा उपभोक्तालाई जानकारी दिइएको पाइँदैन । 

हाम्रा ज्ञान किताबमा मात्र सीमित रहेको पाइन्छ । उपभोक्तासम्म पुग्न सकेको छैन । डण्डी के हो ? सिमेन्ट के हो ? बालुवा, गिट्टी, पानी आदि निर्माण सामग्री के हो र कसरी प्रयोग गर्नुपर्छ आदि विषयको जानकारी उपभोक्तासम्म पु¥याउनै सकिएको छैन । तसर्थ उपभोक्तासम्म प्रविधिको जानकारी पुग्नुपर्छ । प्रत्येक निर्माणस्थलमा निर्माण आचारसंहिताका बोर्ड राख्न जरुरी छ । घर वा संरचना सम्पन्न भएपछि ‘संरचना सम्पन्न तथा सावधानी प्लेट’ राख्न जरुरी छ; जसले यो सूचना दिन सकोस् कि संरचना सम्पन्न भएको मिति, संरचनाको आयु, संरचनाको भूकम्पीय क्षमता, संरचनामा रहेका भारहरू, संरचनालाई मर्मत गर्नुपर्ने मिति, संरचनामा गर्नुपर्ने सावधानीहरू आदि । अब इन्जिनियरिङ कागजमा मात्रै होइन, व्यवहारमै हुनु जरुरी छ । प्राविधिकले मात्र होइन, साधारण उपभोक्ताले पनि डण्डीमा खिया लाग्न दिन हुँदैन, लागे पनि सफा गरेर गुणस्तरीय ढलानले छोप्नुपर्छ । खियाको बजार अन्त्य गर्नुपर्छ ।