गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २ गते । निर्वाचन आयोगले प्युठानबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपियाँ दिएर निर्वाचन प्रचारप्रसार गराएको समाचार प्रकाशन भएपछि आयोगले थापालाई पुनः स्पष्टीकरण सोधेको हो ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा “उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा वकसकोरुपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन हुँदैन” भन्ने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत “विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने” व्यवस्था छ ।
थापालाई पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्नुहुन निर्देशन दिइएको आयोगले जनाएको छ ।