• ११ मंसिर २०८१, मङ्गलबार

कैलाली २ र ३ मा मतदानको अन्तिम तयारी

blog

राष्ट्रिय माध्यमिक विद्यालय सुखडस्थित मतदानस्थलमा बाँस, डोरी लगाई बुथ निर्माण गरिँदै । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), मङ्सिर २ गते । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ र ३ मा मतदानका लागि तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन कार्यालयले क्षेत्र नम्बर २ र ३ मा ९६ मतदान स्थल र २४९ मतदान केन्द्रबाट मतदान गर्ने तयारी अन्तिम अवस्थामा पुगेको हो । 

क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तेजप्रकाश जोशीका अनुसार कैलाली क्षेत्र नम्बर २ मा ५१ वटा मतदानस्थलमा १२२ मतदान केन्द्र रहेको छ । सबै मतदानस्थल सरकारी विद्यालयमा रहेको र एउटा मतदान स्थलमा १० वटासम्म केन्द्रको व्यवस्थापन मिलाई निर्वाचन सामग्रीसहित कर्मचारी खटिएको जानकारी दिनुभयो । 

एक लाख पाँच हजार मतदाता रहेको क्षेत्र नम्बर २ मा प्रत्येक निर्वाचन केन्द्रमा नौ जना कर्मचारी खटाइएको छ । निर्वाचन अधिकृत जोशीले सर्वदलीय बैठकबाट निर्वाचनलाई सहज र निष्पक्ष बनाउन आवश्यक नियमहरूको परिपालन गर्न सहमति जुटाउने काम भएको उहाँको भनाइ छ ।

त्यसैगरी, कैलाली क्षेत्र नम्बर ३ मा समेत ४५ वटा मतदान स्थलमा १२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ  । सो क्षेत्रका निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालका अनुसार १२७ मतदान केन्द्रका लागि एक हजार पन्ध्र जना कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।  

एक लाख सात हजार ६५९ जना मतदाता रहेको क्षेत्र ३ मा सबै मतदान स्थलमा सहजरुपमा मतदान गर्ने व्यवस्थापनका लागि सर्वदलीय बैठक बसी आचारसंहिताको पालना गरी निर्वाचन सम्पन्न गराउन सहमति भएको छ । निर्वाचन अधिकृत दाहालले दलबाट एजेन्टको नाम पठाउने काम भइरहेको छ । 

मतदानका दिन एउटा कर्मचारी बराबर चार जना स्वयंसेवक परिचालन गर्ने तयारी समेत भएको निर्वाचन अधिकृत दाहालले बताउनुभयो ।