• ११ मंसिर २०८१, मङ्गलबार

तनहुँमा ३०५ मध्ये ३२ जना महिला मतदान अधिकृत

blog

व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयमा ‘ख’ केन्द्रकी मतदान अधिकृत अनिशा यादव। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, मङ्सिर २ गते। आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ३२ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

जिल्लाका ३०५ वटा केन्द्रमध्ये सो सङ्ख्यामा महिला अधिकृतलाई जिम्मेवारी दिइएको जिल्ला निर्वाचन कार्यालय तनहुँमा प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो। 

मतदान अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका व्यास नगरपालिका-२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय ‘ख’ केन्द्रकी मतदान अधिकृत अनिशा यादवले नयाँ जिम्मेवारी पाउँदा उत्साहित रहेको जानकारी दिनुभयो। 

निर्वाचनको काम अन्तर्गत मतदानस्थलको तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणित गर्ने, सर्वदलीय बैठक राख्ने, मतदाता परिचयपत्र वितरण गर्ने, निर्वाचन शिक्षा दिनेलगायतका काम भइरहेको मतदान अधिकृतले बताएका छन्। 

शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारस्थित खैरेनी माध्यामिक विद्यालय ‘ख’  केन्द्रकी मतदान अधिकृत टेकावती ढकालले लामो अनुभव भएकाले काम गर्न सजिलो भएको बताउनुभयो। छ वटा गाउँपालिका र चार नगरपालिका गरेर १० वटा स्थानीय तह रहेको तनहुँमा १४२ मतदानस्थल, ३०५ मतदान केन्द्र तोकिएका छन्। 

दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरेर ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेर चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो। 

जिल्लामा दुई लाख ४८ हजार ४९५ जना मतदाता छन्। स्थानीय तह निर्वाचनपछि जिल्लामा चार हजार १५५ मतदाता थपिएको उहाँले बताउनुभयो। तनहुँमा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० र तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २५ हजार ५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।