• २२ असार २०८१, शनिबार

गुल्मीमा धान उत्पादन घट्ने अनुमान

blog

धान थन्क्याउन व्यस्त गुल्मीका किसान । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर २ गते । गुल्मीमा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष १४ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरेको हो । 

सुरुमा खडेरी परेको, फूल खेल्ने बेला पानी र हावा परेको अनि धान पाक्ने बेलामा लगातार पानी परेको हुँदा अहिले धान उत्पादनमा कमी आउने अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस जिल्लामा गत वर्ष २७ हजार ८०७ मेट्रिक टन धान उत्पादन भएको थियो । अहिले २३ हजार ७१८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । मसिना बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ । “गत वर्ष पाँच करोड बराबरको चामल आयात भएको थियो । एक जनाले सरदर बर्षेनी १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार ५०० मेट्रिक टन चामल आवश्यक पर्छ ।” उहाँले भन्नुभयो,–“करिब १७ हजार मेट्रिक टन चामल जिल्लामै उपलब्ध छ भने अपुग आयात गर्नुपर्छ ।” 

यहाँ चैते धान ३४१ हेक्टरमा खेती गरिन्छ । बर्से धान ८ हजार ६७० हेक्टरमा खेती गरिन्छ । हंसराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लेलोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धान उत्पादन गरिन्छ । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण किसानले यी जातका धान लगाउँदै आएका छन् । 

उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने भएकाले यसको भात खाँदा भोक नलाग्ने र बास्नादार पनि हुने गरेकाले कतिपय धानको चामल विशेष प्रकारको परिकार पकाउनका लागि किसानले प्रयोग गर्दै आएका छन् । “किसान आफैँले यी बीउलाई निरन्तरता दिइरहेका छन् । केही जातका बीउ किसानले रोप्न छाड्दै जाँदा लोप हुने अवस्थामा पुगेका छन् ।” कार्यालय प्रमुख भण्डारीले भन्नुभयो,–“कृषि ज्ञान केन्द्रले बीउ संरक्षण र आवश्यक पर्दा किसानलाई वितरण गर्दै आएको छ । जिल्लामा उन्नत जातहरूमा साँवा मन्सुली, मकवानपुर–१, खुमल–४, रामधान,  हिमाली हाइब्रिड धान शङ्कर पर्दछन् ।” 

जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छाप चौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, जोहाङ्ग खैरेनी, साहाघाट, चेहेमी फाँट र चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोट, शान्तिपुरका फाँटहरूमा धानखेती गरिन्छ । मुसिकोट नगरपालिकाको तल्ला फाँट, इन्द्रेगौडा भुवाचिदी, वामीटक्सार, पौदी अरेवा, भर्मचौरलगायत बडिघाट खोलाको आसपासका क्षेत्रमा धानखेती गरिन्छ । 

त्यस्तै, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, सिलादी, मदाने गाउँपालिकाको सिर्सेनीस्थित सिम, अग्लुङ्ग फेदी, भनभनेको तल्लो क्षेत्रमा धान खेती गरिन्छ । धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँटहरू, ईस्मा गाउँपालिकाको चौरासीफाँट, हुलाके, हस्तिचौर लगायत छल्दी र निस्ती खोलाको आसपास क्षेत्रमा धान खेती गरिन्छ । गुल्मी दरबार गाउँपालिकाको गरमटारी, खज्र्याङ्ग, घोडाहाफाँट, टारी फाँट, छत्र कोट गाउँपालिकाको खर्ज्याङ्, मनबाग, अँगाहा, उल्लीखोला, बोआ फाँट र रुरु क्षेत्र गाउँपालिकाको टाहाटिम, घिउबेसी, छम्दी र कालीगण्डकीको आसपासको क्षेत्रमा धानखेती गरिन्छ । 

यहाँ धान उत्पादनको अवस्था बढाउनका लागि विकासे र रैथाने जात धानका बीउ बराबरी लगाइनुपर्छ  तर अहिले रैथाने भन्दा विकासे धान लगाउने चलन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारीले बताउनुभयो । रैथाने धानका बीउले हावापानी, रोग सबै भोगिसकेको हुन्छ । अप्ठेरोमा साथ दिन सक्ने भनेकै रैथाने जात हो । रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा भएको कारण गत वर्षभन्दा यो पटक रोपाई प्रतिशत बढेको उहाँको भनाइ छ । 

Author

रमेश विश्वकर्मा