• ७ वैशाख २०८१, शुक्रबार

पार्टीका चुनावी गीतका कारण मतदाता उत्साहित

blog

उम्मेदवार कलाकारहरू ।

काठमाडौं, मङ्सिर १ गते । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नजिकिँदै जाँदा चुनावी माहौलमा विभिन्न पार्टीका चुनावी गीतले मतदाताहरूको उत्साह बढाएको छ । गायक गायिकाले विभिन्न चुनाव गीतमा विभिन्न भाका र लयमा गाउँदा थप रमाइलो र उत्साह थपेको छ ।

कस्ता छन्, यसपालीको चुनावी गीत
‘मनमनमा प्रचण्ड, मनमनमा माओवादी’

माओवादीले ४ मङ्सिरको निर्वाचनलाई लक्षित गर्दै ‘र्‍याप’ शैलीमा गीत तयार पारेको छ । ‘नयाँ शैली, नयाँ प्रस्तुति: मनमनमा प्रचण्ड, मनमनमा माओवादी’ शीर्षकको गीत युवापुस्तालाई लक्षित गरी बनाइएको हो ।

गीतमा जगत् तिरुवाको स्वर तथा सङ्गीत र सङ्गीत संयोजन केशव बाबुले गर्नुभएको हो । माओवादी केन्द्रको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा अहिलेसम्म युट्युबमा २८ हजार १०२ भन्दा धेरैले हेरिसकेका छन् ।

गीतले माओवादी आन्दोलनको जगमा उभिएर आएका परिवर्तन र उपलब्धिको चर्चा गरेको देखिन्छ । गणतन्त्र ल्याउन, महिला, दलित, थारु, मुस्लिम, जनजातिलगायतलाई अधिकार दिलाउन माओवादीले भूमिका खेलेको माहौललाई गीतमा उल्लेख गरिएको छ ।

प्रचण्डका लागि भोट माग्नका लागि नेवारी र्‍याप गीत

यस्तै, प्रचण्डका लागि भोट माग्नका लागि नेपालभाषा (नेवारी)मा र्‍याप गीतसमेत ल्याइएको छ । ‘चाकला दुनेया इचा मुगलय्’ अर्थात् ‘हँसिया, हटौडामा भोट दिऊँ’ । यो गीत प्रसारण भएको १२ घण्टामा करिब दुई हजार जनाले सस्क्राइब गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १० मा नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभाका सदस्य अञ्जना बिशंखे, प्रदेश सभा १० (क)का दिलीप महर्जन र १० (ख) का गणेश कुँवरको लागि भोट मागिएको गीत पनि सार्वजनिक भएका छन् ।

‘सहरसहरमा ओली, गाउँघरमा ओली, झुपडी र महलमा ओली, ठाउँ ठाउँमा ओली, सूर्यको जीत छ भोलि’

यस्तै, ‘सहरसहरमा ओली, गाउँघरमा ओली, झुपडी र महलमा ओली, ठाउँ ठाउँमा ओली, सूर्यको जीत छ भोलि, आउँदैछन् केपी ओली’ शीर्षकको नेकपा एमालेको नयाँ गीत चुनावी लक्षित गरी ल्याइएको छ ।

चुनाव प्रचारका लागि तयार पारिएको यस गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान गाइएको छ । गीतमा ओलीको पनि आवाज सुन्न सकिन्छ । यस्तै, केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाटसमेत र्‍याप गीत सार्वजनिक गर्नुभएको हो ।

ओली नाइट क्लब पुग्दा ठूलो सङ्ख्यामा युवाको उपस्थिति थियो । यसरी पछिल्लो समय ओलीले चुनावमा युवाको भोटको लागि सामाजिक सञ्जालमा सक्रिय हुनुभएको देखिन्छ ।

‘हो बोली अलि कडा छ, दिमाग तगडा छ’

यसबाहेक नेकपा एमालेका अध्यक्ष केपी ओलीको समर्थनमै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी अर्को ‘नयाँ ओली बा’ र्‍याप गीत पनि सार्वजनिक गरिएको छ । यस गीतमा पनि ओलीले आफ्नो कार्यकालमा गरेका राम्रो कामलाई समेटेर गीतमार्फत सार्वजनिक गरिएको हो ।

‘गठबन्धनलाई नजिताइ भाछैन’

चुनावमा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गर्दै माओवादी केन्द्रले चुनावी गीत ल्याएका हुन् । माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा खिचिएको यस गीतमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' देख्न सकिन्छ ।

गीतमा चेतन सापकोटाको सङ्गीत तथा स्वर रहेको छ । यस्तै, गीतमा प्रचण्डकी नातिनी स्मिता प्रधान दाहालले पनि स्वर भर्नुभएको छ । गीतलाई जनसांस्कृतिक महासङ्घले निर्माण गरेको हो ।

यस्तै, घण्टी चिन्हमा मतदान गरौँ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराऔँ, संविधान जोगाउने गठबन्धनले हो, लगायत विभिन्न चुनाव लक्षित गीत सार्वजनिक भएका छन् ।

यसबाहेक चुनावमा भोट माग्नका लागि आजभोलि नेताहरूले सामाजिक सञ्जालको प्रयोग बढी नै गरेको पाइन्छ ।

चुनावमा कलाकार पनि

यसरी निर्वाचनरूपी महाकुम्भ मेलामा भाग लिन चुनावी गीतदेखि कलाकारमा पनि होडबाजी देखिएको छ । पछिल्लो समय राजनीतिमा धेरै कलाकार आकर्षित भएको देखिन्छ । निर्वाचन आकर्षणले कलाकारलाईसकेत छोडेन ।

नायिका रेखा थापाले मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले राप्रपा पार्टीबाट निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

गायिका कोमल वलीले पनि दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले नेकपा (एमाले) पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै, निर्देशक मनोज पण्डितले काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट गायक सञ्जय श्रेष्ठले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, कलाकार मधुसूदन पाठक ‘सिते बा’ ले पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

हास्यकलाकार हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ । कलाकार तथा निर्माता रोज राणाले पनि प्युठान १ ‘ख’ बाट प्रदेश सभातर्फ उम्मेदवारी दिनुभएको छ । 

“देशलाई हामीजस्ता पढेलेखेका युवाको खाँचो छ । अब देश बनाउन को आउँछ भनेर हामी प्रतीक्षा गर्न सक्दैनौँ । त्यसैले हामी युवा नै अघि सरेका हौँ”, कमेडियन हिमेश पन्तले भन्नुभयो । शिक्षा, स्वास्थ्यको विकास र बेरोजगारी समस्या हटाउने प्रतिबद्धताका साथ पन्त राजनीतिमा आउनुभएको हो ।

कलाकार तथा वितरक करण श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ को बागमती प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता गराउनुभएको हो । 

मेरो लागि राजनीति भनेको समाजसेवा हो ।

जनताको मन र विश्वास जित्दै उहाँहरूको सपना र योजना सबैको सहभागिता विकासको प्रतिबद्धता नै मेरो उद्देश्य हो” श्रेष्ठले भन्नुभयो । यसबाहेक चलचित्र क्षेत्रलाई व्यवस्थित बनाउने र विकासका कामलाई समेटेर अगाडि बढ्ने उहाँको भनाइ छ । 

नायिका रेखा थापाले आफू राजनीतिमा आउनु समयको माग रहेको बताउनुभयो । देशको विकास, बालबालिकाको सुरक्षा र महिलाको हिम्मत बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

महिलाले जसरी राम्रोसँग घर र समाज चलाउन सक्छ त्यसरी नै देश पनि चलाउन सक्ने हिम्मत राख्छ । “२० औँ वर्षदेखि आफूले चाहेको जनप्रतिनिधि नपाएको र पहिलो पल्ट महिला जनप्रतिनिधि पाएर सबै जना खुसी हुनुहुन्छ,” उहाँले भन्नुभयो, “महिलाले जसरी राम्रोसँग घर र समाज चलाउन सक्छ त्यसरी नै देश पनि चलाउन सक्ने हिम्मत राख्छ ।” पुरुषको तुलनामा महिलाहरूले मातृत्वबोध गर्ने गरेको उहाँको भनाइ छ ।