• १३ साउन २०८१, आइतबार

नौ वर्षदेखि पालमुनिको बसाइ

blog

रजनी योगी 

सुर्खेत, कात्तिक ३० गते । निर्वाचन माहौल तातिएका बेला गिरीघाटस्थित बाढी प्रभावितका छाप्रोमा भने चिसो सिरेटो चलेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता रिझाउन व्यस्त नेताहरू एकपछि अर्को यो शिविरमा पुगे पनि समस्या समाधानको आश्वासन मात्र दिएको पीडितको भनाइ छ ।

पाँच वर्षअघिकै आश्वासन लिएर फेरि बाढी प्रभावितको मत तान्ने कसरतमा उम्मेदवार लागेको शिविरका प्रतिनिधिको दुःखेसो छ । राजनीतिक दल र नेताहरूले २०७४ को चुनावताका शिविरको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यतिबेला बाढी प्रभावितको सवाल प्राथमिकताका साथ उठाएका उम्मेदवारले निर्वाचनपछि बेवास्ता गरेको अस्थायी शिविरका बासिन्दाको गुनासो छ । 

२०७१ को बाढीका कारण विस्थापित बराहताल गाउँपालिका –२ का एक सय २५ घरधुरी अहिले पनि गिरीघाटसँग जोडिएको वीरेन्द्रनगर –१ को सामुदायिक वन क्षेत्रमा बसिरहेका छन् । त्रिपाल र छाप्रोमा बस्दै आएका उहाँहरूलाई कर्णाली प्रदेश सरकारले व्यवस्थापनका लागि तीन चरणमा राहत रकम उपलब्ध गराएको भए पनि त्रिपालको बासबाट मुक्ति पाउनुभएको छैन ।  

पुनर्स्थापना लागि सो रकम न्यून भएको प्रभावित परिवारहरू बताउँछन् । जो अघिल्लो निर्वाचनका बेला मात्र होइन, झन्डै नौ वर्षदेखि त्रिपालमुनि छन् । ‘चुनाव आएमात्र पीडा सुन्न भन्दै नेताहरू आउँछन्’ शिविरकी विनीता विकले भन्नुुभयो ‘हाम्रो व्यवस्थापनमा कसैले चासो देखाएनन्, वर्षाैंदेखि भ्वाङ्ग परेका त्रिपालमा कष्टर जीवन काटिरहेका छौँ ।’

गिरीघाट शिविरमा केही दिनयता नेताको आउजाउ बाक्लै छ । सबैजसो उम्मेदवारले आफ्नो प्रतिबद्धतापत्रको एउटा बुँदामा लेखेका छन्, ‘बाढीपीडित परिवारको उचित व्यवस्थापनका लागि पहल गरिनेछ ।’ ठूलादेखि साना सबै दल र उम्मेदवारले सो बस्ती व्यवस्थापनलाई जोड दिने प्रतिबद्धता जनाएका छन् । 

शिविरमा बस्दै आएका ५६ वर्षीय धनबहादुर विकले नेताहरूका बाचा खोक्रो आश्वासन मात्र लाग्नेगरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नेता र सरकारविनाका नागरिकजस्तै भयौँ ।’ 

अस्थायी शिविरका बासिन्दाको मुख्य माग जग्गाधनी पुर्जा रहेको छ । कतिपय परिवारले अझै पनि राहत रकम नपाएको गुनासो गरेका छन् । तीन वटै तहका सरकारले राहत रकम दिने भने पनि प्रदेश सरकारबाट मात्र प्रतिघरधुरी तीन लाख रकम प्राप्त भएको उहाँहरूको भनाइ छ ।

शिविरका शान्ति सारुले आफ्ना समस्या सम्बोधन गर्नेखालका नेता कोही नआएको बताउनुभयो । यसअघि राजनीतिक दल र नेताहरूको करकापमा मत दिनेगरेको भए पनि यसपल्ट त्यसो नगर्ने बताउनुभयो । ‘घर बनाइदिन्छौँ, रोजगारी दिन्छौँ, ढुक्कसँग बस्नुहोला भन्ने उम्मेदवारहरू शिविरमा मत माग्न आएका छन्’ उहाँले भन्नुभयो । 

बाढीपीडित सङ्घर्ष समितिका संयोजक रामचन्द्र पुरीले उचित ठाउँमा जग्गाको व्यवस्थापन गरी बस्ती विकास गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिलेकै ठाउँमा फर्कन सक्ने अवस्था छैन, त्यहाँ तटबन्ध गर्नुपर्ने हुन्छ ।’ कैयन हिउँद बर्खा त्रिपालमा कटाएका बाढी प्रभावित परिवार सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । 

यो पालिकाका वडा नं. २ र ३ मा गरी पाँच सय घरधुरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । त्यसका लागि उपयुक्त स्थानको अध्ययनको तयारी थालिएको उहाँको भनाइ छ ।