• १३ साउन २०८१, आइतबार

बुद्ध एयरको एटिआर ७२ विमानबाट सुर्खेतमा परीक्षण उडान

blog

नवीन सुवेदी 

सुर्खेत, कात्तिक ३० गते । निजी वायु सेवा कम्पनी बुद्ध एयरले सुर्खेतमा परीक्षण उडान गरेको छ । एटिआर ४२ मार्फत नियमित उडान गर्दै आएको बुद्धले बुधबार एटीआर ७२ विमानमार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो । 

सानो जहाज चढ्दा हवाई भाडा महँगो भएको र कर्णालीवासीले विमान चढ्न नेपालगन्ज नै पुग्नुपर्ने बाध्यता देखिएपछि बुद्धको एटीआर ७२ लाई नियमित उडान गर्नेगरी परीक्षण उडान गर्न पहल गरिएको हो । 

एटीआर ७२ जहाजको रिपोर्ट सकारात्मक नै आउने र कर्णालीवासीले सस्तो भाडामा सुर्खेत – काठमाडौं –सुर्खेत नियमित उडान हुनेमा निजी क्षेत्र आशावादी रहेको सुर्खेत उद्योग वाणिज्य सघंका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिनुभयो । 


यस्तै, चालकदलका सदस्यसहित बुद्ध एयरका कर्मचारी र नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली नेपालगन्जबाट सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । 

एटीआर ७२ जहाजमार्फत परीक्षण उडान सफल भएको र प्राधिकरणको रिपोर्टपछि आगामी पुसदेखि नियमित उडान गर्ने पाइलट प्रमोद थापाले बताउनुभयो । 

उहाँले सानो जहाजमार्फत उडान गर्दा भाडादर महँगो भएकाले यात्रुहरूको मागअनुसार एटीआर ७२ जहाजमार्फत सेवा दिन परीक्षण उडान गरिएको उल्लेख गर्नुभयो । 

सुर्खेत विमानस्थल उडान अनुकूल रहेको अवस्थामा एटीआर ७२ जहाजमार्फत दैनिक दुई उडान गर्ने र न्यूनतम भाडादर सातहजार पाँचसय कायम गरिने बुद्ध एयरले जनाएको छ ।