• १२ साउन २०८१, शनिबार

सुनसरीमा सुरक्षा अधिकारीद्वारा अनुगमन

blog

सुनसरीमा सुरक्षा अधिकारीद्वारा अनुगमनमा सहभागीहरू । तस्बिर – जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कात्तिक ३० गते । सुनसरीका सुरक्षा अधिकारीहरुद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी मतदान स्थलहरुको अनुगमन गरिएकाे छ । भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका स्थानीय तहमा रहेका मतदान केन्द्र तथा स्थलहरुकोे निरीक्षण तथा अनुगमन गरिएको हो ।

नागरिकहरु तथा मतदातालाई निर्भिक भएर आफ्ना उम्मेदवारलाई मतदान गर्ने वातावरण रहेको सन्देश दिन र मतदान केन्द्रको अवस्था बुझ्ने उद्देश्यका साथ सुनसरीका सीमावर्ती क्षेत्रका मतदानस्थलहरुको निरीक्षण तथा अनुगमन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नं. १ का निमित्त प्रमुख सचिव किशोरकुमार चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, नेपाली सेनाका सहायक रथी रन्जित थापा, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, अनुसन्धान निर्देशन कृष्णप्रसाद खनाल, सुनसरीका मुख्य निर्वाचन अधिकृत तथा सुनसरीका प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखसहितको टोलीले जिल्लाका सीमावर्ती क्षेत्रका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रदेश निर्वाचन कमाण्ड पोष्टद्वारा सुनसरीका मुख्य निर्वाचन अधिकृतलगायतका टोलीसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।

छलफलपछि निमित्त प्रदेश सचिव तथा मुख्य निर्वाचन अधिकृतसहितको टोलीले जिल्लाका सीमावर्ती कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र दुहवी नगरपालिकाकामा रहेका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन गर्नुभएको थियो ।