• १५ चैत २०८०, बिहिबार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

सीमा नाका आजबाट र प्रचारप्रसार भोलि मध्यरातिदेखि बन्द

blog

काठमाडौं, कात्तिक ३० गते । कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ । मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । 

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि अर्थात् मङ्सिर १ गते मध्यराति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको छ । 

निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ ।

आयोगले बिहीबार मध्यरातिपछिको अवधिलाई स्थिर समयका रुपमा व्याख्या गरेको छ । तर, विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । 

निर्वाचन आचारसंहिता अनुगमन समितिका केन्द्रीय संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले १७ दिन प्रचारप्रसारका लागि समय दिएकाले त्यसपछि स्थिर समय लाग्ने र यसमा कुनै कानुनले तोकेको भन्दा अन्य गतिविधि गर्न नपाइने बताउनुभएको छ । 

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् । 

त्यस्तै, निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातिदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोष्ट, सेयर गर्न पाइने छैन ।

मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री पनि हटाउनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ । 

यसैगरी, निर्वाचन सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि अर्थात् आज बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने व्यवस्था छ । 

प्रतिनिधिसभाका १६५ सिटमा दुई हजार ४१२ र सातै प्रदेशका ३३० सिटका लागि तीन हजार २२३ उम्मेदवार छन्  ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । मतदानका लागि आयोगले १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकेको छ  । निर्वाचनका लागि दुई लाख ४७ हजार कर्मचारी खटिने आयोगले जनाएको छ ।