नवीन शिशिर विक
बागलुङ, कात्तिक ३० गते । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा घरदैलोपछि नेकपा (एमाले) का उम्मेदवारहरू उत्साहित भएका छन् ।
मतदाताले दिएको सकारात्मक प्रतिक्रिया, राजनीतिक प्रतिबद्धता, विकासका मुद्दामा सुझाव सल्लाह र सङ्गठन विस्तारले उम्मेदवारहरूलाई प्रोत्साहन मिलेको हो ।
बागलुङ क्षेत्र नम्बर न. १ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य पाठक, गण्डकी प्रदेशसभा नं. १ (क) का उम्मेदवार हीराबहादुर केसी र क्षेत्र नं.१ (ख) का उम्मेदवार नवराज पौडेलले आ–आफ्नो निर्वाचन क्षेत्रका सबै मतदातालाई भेट गरी मत माग्ने तथा सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ ।
मतदाताले आफूहरूसँग विकासका आधारभूत पूर्वाधार निर्माण, खेतीबालीमा बाँदर नियन्त्रणदेखि राष्ट्रियता, वैदेशिक रोजगार र मतदान, सामाजिक सुरक्षा जस्ता गम्भीर मुद्दामा सचेत र सजग गराएको प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सूर्य पाठकले बताउनुभयो ।
‘मतदाताहरू विकास, समृद्धि, राष्ट्र, राष्ट्रियताको बारेमा चिन्तित हुनुहुन्छ’ उहाँले भन्नुभयो–‘राजनीतिमा युवा पुस्ताको नेतृत्व स्थापित गर्न मतदाता आतुर हुनुहुन्छ ।
विशेष गरी बागलुङ क्षेत्र न. १ को बागलुङ नगरपालिका– ११ रायडाँडा, जैमिनी नगरपालिका–१० राङखानी, बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट र काठेखोला गाउँपालिका–४ तग्राममा मतदाताले सर्वतन्त्रपूर्वक मत राख्न नपाउने, मृतक तथा वैदेशिक रोजगारमा रहेका मतदाताको भोट राख्ने जस्ता अलोकतान्त्रिक गतिविधि हुने त्रास तथा आशङ्का एमालेले व्यक्त गरेको छ ।
‘विगतका निर्वाचनमा खसेको मत आधार मान्दा यी क्षेत्रमा निर्वाचन निष्पक्ष छैन भन्ने हो’ उम्मेदवार डा. पाठकले भन्नुभयो– ‘८०देखि ९० प्रतिशतसम्म मत खसेको छ, यो वास्तविकता होइन ।’ राज्यले मतदाताको सुरक्षा र लोकतन्त्रको स्वतन्त्र अभ्यासलाई संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।
बागलुङ क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत डा. दीवाकर भट्टले फर्जीमत नखस्ने बताउनुभएको छ । ‘हामीले निर्वाचन अधिकृतहरूलाई फर्जी मत राक्ने उपायसहित कडा निर्देशन तथा प्रशिक्षण गरेका छौँ’ उहाँले भन्नुभयो– ‘मत राख्न सरकारी प्रमाणपत्र र त्यसमा भएको नागरिकता नम्बर नमिले मत राख्न पाउने छैनन् ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जिल्लाका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । आवश्यकता र औचित्यको आधारमा सुरक्षाकर्मीहरूको सङ्ख्या घटबढ हुने जानकारी उहाँको भनाइ छ ।