• १३ साउन २०८१, आइतबार

निर्वाचनका कर्मचारी हेलिकोप्टरबाट लिमीमा

blog

सिमकोट विमानस्थलमा लिमी जाने कर्मचारी हेलिकोप्टर चढ्दै । तस्बिरः राजन रावत, हुम्ला

राजन रावत

हुम्ला, कात्तिक ३० गते । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूलाई हेलिकोप्टरबाट दुई दिन लगाएर ओसार्ने कार्य पुरा भएको छ ।

लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात जमेको कारण आउजाउमा समस्या भएपछि निर्वाचनमा खटिएका कर्मचारीहरूलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्था भएको  हो । 

प्रमुख जिल्ला अधिकारी सीता परियारले लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिनुभएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट ओसार्ने कार्य पुरा भएको बताउनुभयो ।

लिमी जाने दुई वटै नाकाहरू नारा र न्यालुुमा चारदेखि पाँच फिट हिउँ जमेको कारण पैदल मार्गबाट जान सम्भव नभए पनि आयोगले हेलिकोप्टरको व्यवस्था गरेको थियो ।

उहाँले मगंलबार लिमीमा हिमपात भएको कारण दुई वटा मात्र उडान भएको र बाँकी तीन उडान बुधबार गरेर निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी लिमी पुर्‍याइएको बताउनुभयो ।

लिमीका तीन मतदान केन्द्रहरू  तील, हल्जी र जाङका लागि ६२ जना कर्मचारी र नेपाल प्रहरी, म्यादी प्रहरी र नेपाली सेना रहनुभएको छ । उहाँले नेपाली सेनाको एमआई –१७  हेलिकोप्टर पाँच वटा उडान भरेर कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री ओसार्ने कार्यक्रम रहेको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद साप्कोटाले हेलिकोप्टरबाट निर्वाचनका लागि खटिएका कर्मचारी पठाउने कार्य सुरु भएपछि अब लिमीमा मतदान कार्य हुने कुरामा ढुक्क भएको बताउनुभयो ।


लिमीका लागि हेलिकोप्टरको व्यवस्था भएपछि मङ्सिर १ गते पुग्नु पर्ने कर्मचारीहरू दुई दिन अघि नै मतदान केन्द्रमा पुग्न सुरु भएको छ । लिमीका तीन वटा मतदान केन्द्रका ५४१ मतदाता रहेका छन् ।

यसैबीच, निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले लिमी बाहेक जिल्लाका टाढाका गाउँपालिकाहरू ताँजाकोट, अदानचुली र चङ्खेलीका २० वटा मतदान केन्द्रका कर्मचारीहरू आफ्नो मतदान केन्द्र लाग्नुभएको बताउनुभयो ।