• १३ साउन २०८१, आइतबार

जुम्लामा सत्ता गठबन्धनलाई एमाले, नेमकिपा र राप्रपाको चुनौती

blog

गोमा कुँवर, रतननाथ योगी, ज्ञानेन्द्र शाही, डिल्लीप्रसाद काफ्ले ।

नेत्र शाही 

जुम्ला, कात्तिक २९ गते । जुम्लाको प्रतिनिधिसभाको निर्वाचनमा पाँचजनाकाे उम्मेदवारी परे पनि नेकपा (माओवादी केन्द्र) बाट बागी उम्मेदवार बनेका डा.कलबहादुर रोकायाको उम्मेदवारी निष्क्रिय गरेपछि चार जनाबीच प्रतिस्पर्धा हुनुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का पाेलिट्ब्युराे सदस्य गोमा कुँवर, नेकपा एमालेका नेता तथा उम्मेदवार रतननाथ योगीबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । उहाँहरू दुवैजनाकाे लागि नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले र राप्रकाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) चुनौती दिनसक्ने उम्मेदवारहरू हुनुहुन्छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा  (एकीकृत समाजवादी) को गाउँपालिका अध्यक्षको प्राप्त मत गणना गर्दा ३६ हजार ३५९ मत छ । तर एकीकृत समाजवादीको एक हिस्सा नेकपा (एमाले) मा फर्किएकाले मत घट्नसक्ने अनुमान छ । 

गठबन्धन

उम्मेदवार कुँवर २०७० सालमा समानुपातिक सांसद तथा पशुपंक्षी राज्यमन्त्री समेत हुनुभएको थियो । उहाँ कर्णालीको गठबन्धन दलबाट एकमात्रै महिला उम्मेदवार पनि हुनुहुन्छ । 

गठबन्धनका उम्मेदवार गोमा कुँवर भन्नुहुन्छ, ‘‘मैले संविधान बनाउने अवसर पाएँ । यस पटक मेरो उम्मेदवारी संविधानमा भएका तमाम व्यवस्था कार्यान्वयन गर्ने, जुम्लामा अधुरा र केही अत्यावश्यक विकास भएको छैन त्यो पुरा गर्नुछ । हिजो संविधान सिद्ध्याउने हर्कत केपी ओलीले गरेकाले गठबन्धन वनेको थियो अव स्थिरताको लागि गठबन्धन हो ।’’ 

एमाले

नेकपा (एमाले) ले नेता रतननाथ योगीलाई प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनाएको छ । एमालेको स्थानीय तहको अध्यक्षको मत आठ हजार १९१ रहेको छ । 

उम्मेदवार रतननाथ योगी भन्नुहुन्छ, ‘‘हामी गठबन्धनका विरुद्धमा मतदान गर्छौँ । मत जति भए पनि विचारमा छौँ । मेरो उम्मेदवारी हचुवा भरमा नभई जुम्लाको विकासको गुरुयोजना बनाएर संसदमा छिर्ने हो । व्यवस्था र पद्धतिमा विकास गर्ने हो ।’’ 

नेमकिपा

जुम्ला प्रतिनिधिसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्ले मैदानमा हुनुहुन्छ । उहाँ नेमकिपाको तर्फबाट संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो । 

यसैगरी, नेमकिपाका डिल्लीप्रसाद काफ्ले भन्नुहुन्छ, मेरो उम्मेदवारी सम्पूर्ण जनतालाई रोजगारी सृजना गर्ने, स्थानीय उत्पादन र प्राकृतिक स्रोतलाई उपयोग गरेर युवालाई रोजगार दिने, नीति बनाउनका लागि हो । नेपाली जनताको शिक्षा, स्वास्थ्य निःशुल्क, बाढीपहिरो पीडितका लागि नीतिगत सुनिश्चितता, राष्ट्रियताको रक्षाको लागि मेरो उम्मेदवारी हो ।’’

जुम्लामा वि.सं २०४८ साल र २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा नेमकिपाले विजय हासिल गरेको जुम्लामा नेमकिपाका धेरै नेता कार्यकर्ता अन्य दलहरूमा समाहित हुँदा नेमकिपा कमजोर हुँदै गएको छ । तर, राष्ट्रियताको सवालमा, वैचारिक रूपमा स्थिर भएकाले जनताले मत दिने उम्मेदवार काफ्लेको भनाइ छ ।  

राप्रपा

राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही प्रभाव जुम्लामा परेको देखिन्छ । सामाजिक सञ्जालबाट युवा पुस्तामा उहाँको चर्चा देखिन्छ । विगतमा एक हजार मत पार गर्न नसकेको राप्रपाले उहाँको कारण केही मत थप्न बढ्न सक्ने बताइएको छ । 

ज्ञानेन्द्रको प्रचारशीलै भने फरक छ । राप्रपाको प्रवक्ता समेत रहेका उनले राप्रपाको आधिकारिक प्रचार कहीँ पनि गरेको देखिँदैन । ज्ञानेन्द्र शाही जिताऊ अभियानबाट उनले आफ्नो प्रचार बलियो बनाएका छन् 

राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) भन्नुहुन्छ जुम्लाले राष्ट्रको नेतृत्व गर्नुपर्छ । आजसम्म जति नेतृत्व पठाए पनि राष्ट्रको नेतृत्व गर्ने सक्ने कोही नदेखिएकाले मेरो उम्मेदवारी हो ।’’

विगतका चुनावी नतिजा

जुम्लामा वि.सं २०४८ सालमा नेमकिपाबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाकै भक्तबहादुर रोकाया, २०५६ सालमा एमालेबाट देविलाल थापा, वि.सं २०६४ सालमा तत्कालीन नेकपा (माओवादी) बाट नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही र २०७४ सालमा माओवादी र एमाले गठबन्धनबाट माओवादीका गजेन्द्रबहादुर महत प्रतिनिधिसभाका सांसद भएको इतिहास छ ।