• १२ साउन २०८१, शनिबार

अपाङ्गता रोकथाम तथा पुनर्स्थापनामा नेदरल्याण्डस् र बङ्गलादेशी टोली

blog

फ्रेण्डशीप नेदरल्याण्डका निर्देशक मेम बेटेके र सहायक निर्देशक तोफिकलगायतको भ्रमणको क्रममा । तस्विर – जयकृष्ण यादव । इनरुवा

जयकृष्ण यादव 

इनरुवा, कात्तिक २९ गते । सुनसरीको सीमावर्ती कोसी गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रभावकारी र नमुना भएको भन्दै नेदरल्याण्डस् र बङ्गलादेशी टोलीले प्रशंसा गरेको छ ।

कोसीमा प्रदेश सरकार, करुणा फाउन्डेसन नेपाल र गाउँपालिकाको त्रिपक्षीय लगानी साझेदारीमा सञ्चालित परियोजना अन्तर्गतका अपाङ्गताको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै फ्रेण्डसीप नेदरल्याण्डस्ले स्थलगत भ्रमणका क्रममा प्रशंसा गरेको हो । 

फ्रेण्डशीप नेदरल्याण्डका निर्देशक मेम बेटेके र सहायक निर्देशक तोफिकलगायतको छ सदस्य टोलीले कोसी गाउँपालिकाको स्थलगत भ्रमण गर्नुभएको थियो । सोही क्रममा निर्देशक बेटेकेलाई कोसी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादव र प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले स्वागत गर्नुभएको थियो । 

कार्यक्रमका फोकल पर्सन राजकिशोर मेहताले परियोजना अन्तर्गत सञ्चालित क्रियाकलापबाट पालिका क्षेत्रमा हालसम्म हासिल भएका उपलब्धि र सामना गर्नुपरेको चुनौती समेटिएको प्रस्तुतीकरण गर्नुभयो । 

कोसी गाउँपालिकामा कूल ५६० जना अपाङ्गता भएका व्यक्तिहरू रहेकोमा पुनर्स्थापना अन्तर्गत सहायक सामग्री वितरण र उपचारका क्षेत्रमा काम भएको मेहताले जानकारी दिनुभयो । त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूको ८ वटै वडामा मिलीजुली समूह गठन गरी ५० रुपियाँ हजारका दरले वीउविजन पुँजी दिएर परिचालन गरिएको छ । गत आर्थिक वर्षमा ३२ जना अपाङ्गता भएका व्यक्ति वा निजका अभिभावकलाई सिपमूलक तालिम समेत दिएको बताउनुभयो । 

रोकथाम अन्तर्गत अपाङ्गता भएका बच्चा जन्मिन नदिन नव दम्पती तथा गर्भवती महिलालाई लक्षित गरी सावधानीका उपायहरू अपनाउने जनचेतना जगाउने, फोलिक एसिड खुवाएर जोखिम न्यूनीकरण गर्ने काम समेत भएको मेहताको भनाइ छ । 

शिशुको जन्म दोष परीक्षण गरी गत वर्ष आठ जना बच्चालाई उपचार गरी अपाङ्गता हुनबाट जोगाइएको जनाएको छ । करुणा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक दीपकराज सापकोटा सहितको भ्रमण टोलीले कार्यक्रमबाट उपचार सहयोग पाई अपाङ्गता हुनबाट जोगिएका कोसी वडा नं ३ का बच्चा खुसी साहको घरमा गई अवस्था बुझ्नुभएका थियो ।

भ्रमण टोलीले सामुदायिक स्वास्थ्य इकाई कोसी २, कोसी टप्पु मिलीजुली समूह कोसी– ३ को भ्रमण गरेको थियो । मिलीजुली समूहमा भ्रमण गर्दा ३० जना भन्दा बढी अपाङ्गता भएका व्यक्ति तथा अभिभावकले कार्यक्रमबाट कोसीमा अपाङ्गताको क्षेत्रमा धेरै जागरण आएको भन्दै कार्यक्रम निरन्तरताको लागि पालिका पदाधिकारीसँग माग गर्नुभएको थियो ।

भ्रमणबारे प्रतिक्रिया दिँदै मेम बेटेके र सहायक निर्देशक तोफिकले आफूहरूले अपाङ्गताको क्षेत्रमा आफ्नो देशमा काम गर्न गइरहेको हुँदा नमुना हेर्न आएको बताउनुभयो । अपाङ्गताको क्षेत्रमा काम गर्न निकै चुनौती रहे पनि पालिकाले गरेको कामप्रति मेम बेटेकेले प्रशंसा गर्नुभयो ।