• ६ जेठ २०८१, आइतबार

नेप्से परिसूचक २१.२६ अङ्कले वृद्धि

blog

काठमाडौं, कात्तिक २८ गते । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक २१.२६ अङ्क बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.५० अङ्कले बढेको छ भने फ्लोर इन्डेक्स १.३० अङ्क र सेन्सेटिभ फ्लोर इन्डेक्स १.४९ अङ्कले बढेको छ ।

आज कारोबारमा आएको २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख ८९ हजार रुपियाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा आज कारोबार रकम पनि बढेको छ । आज ७७ करोडको शेयर खरिद बिक्री भएको थियो ।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक बढेसँगै तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य ९.८४ प्रतिशत बढेको छ । त्यसैगरी, सप्तकोसी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, शिवम सिमेन्ट्सको कारोबार १० करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।