• १३ साउन २०८१, आइतबार

तीन दिन नेपाल भारत जमुनाहा नाका पूर्णरुपमा बन्द हुने

blog

निर्वाचनका लागि मङ्सिर १ गते रातिबाट तीन दिन बन्द गरिने जमुनाहा नाका । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, कात्तिक २८ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पूर्णरुपमा बन्द गरिने भएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाकालगायत जिल्लाका सबै सहायक नाकाहरु समेत ७२ घण्टा बन्द गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

हालै नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकमा भएको सहमतिअनुसार मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ सम्मका लागि नेपाल भारत सीमा नाका पूर्णरुपमा बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । 

उहाँले सोही समयमा बर्दियाको मुख्य नाका गुलरिया नाकासँगै जिल्लाका अन्य सबै सहायक नाकाहरु पनि बन्द गरिने बताउनुभयो । नेपालले मात्रै नभएर भारतीय प्रशासनले समेत आफ्नो भूमिबाट सिमानालाई पूर्णरुपमा बन्द गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । 

तोकिएको अवधिभर कुनै पनि सवारीसाधन र कोही कसैलाई पनि सीमा नाकाबाट आवतजावत गर्नमा पूर्णरुपमा प्रतिबन्ध लगाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले सिमा नाका बन्द भएको समयमा जबर्जस्ती घुसपैठ गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही गरिने बताउनुभयो । 

उहाँले जमुनाहस्थित मुख्य नाका लगायत सबै सहायक नाकाहरुमा सुरक्षाकर्मीको सङ्ख्या थपेर तीन दिनसम्म निरन्तर सुरक्षा गस्तीका साथै नेपाल भारतका सुरक्षाकर्मीको पनि संयुक्त गस्ती गराइने बताउनुभयो । 

भारतसँग सीमा नाका जोडिएको बाँके जिल्लाका अधिकांश मतदानस्थललाई अति संवेदनशिल मानिएकाले सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइएको र जनशक्ति समेत बढाइएको बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो । 

नाकाको सुरक्षालाई प्रभावकारी बनाउन नाकामा रहेका दुबै देशका सुरक्षा अधिकारीहरुबीच दैनिकजसो छलफल र भेटघाट समेत भइरहेको बाँके प्रशासनले जनाएको छ ।