• ११ मंसिर २०८१, मङ्गलबार

धरानको समस्या समाधान गर्न एमाले सरकार आवश्यक : अध्यक्ष ओली

blog

सचिन पोख्रेल

धरान (सुनसरी), कात्तिक २५ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानीसहित अन्य समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ । समस्या समाधानमा एमाले सक्षम रहेको उहाँको भनाइ छ । 

धरानमा शुक्रबार भएको एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धरानको प्रमुख समस्याको रूपमा रहेको खानेपानीलाई दीर्घकालीन समाधान गर्न एमालेको सरकार बन्नुपर्ने बताउनुभएको हो । धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीन वटा अवसर रहेको उहाँको भनाइ छ । 

कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्चीजस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । ‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, एमालेको सरकार चाहिन्छ’ ओलीले भन्नुभयो । 

पूर्व प्रधानमन्त्री ओलीले धरान वडा –५ को देउराली बस्तीलाई खोलाबाट जोगाउन बलियो तटबन्धन निर्माण गर्ने र अव्यवस्थित बोसवासीलाई धनिपूर्जा दिइने बताउनुभयो । एमाले र जसपाको तालमेल भएको हुनाले सुनसरी १ मा अशोक राईलाई एमालेले भोट दिनुपर्ने बताउनुभयो ।  

अध्यक्ष ओलीले जसपासँग राष्ट्रिय आवश्यकताका लागि तालमेल गरेको बताउनुभयो । स्वतन्त्रको नाममा देशमा अराजकता बढ्दै गएको तथा देशी विदेशी शक्तिहरूले विभिन्न नाममा चलखेल गरिरहेकाले जनता चनाखो हुनुपर्ने उहाँले बताउनुभयो ।