• १३ असोज २०८१, आइतबार

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो

blog

काठमाडौँ,  कात्तिक  २५ गते । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको योगफल बनायो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेले । उनले एक सय ४० रनको योगदान दिए । यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे । त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे । 

बलिङतर्फ आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट झारे । यस खेलको विजेताले फाइनलयात्रा तय गर्नेछन् । हिजो भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मधेस प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको छ । प्रतियोगिताको विजेताले रु. १० लाख तथा उपविजेताले रु. पाँच लाख पाउनेछन् । फाइनल खेल भोलि हुनेछ ।