• ११ मंसिर २०८१, मङ्गलबार

सिद्धबाबा सडकखण्ड सुधारको माग

blog

तानसेन समाचारदाता

पाल्पा, कात्तिक २५ गते । पाल्पाका मतदाताले सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सडकखण्डलाई सुधार गर्न माग गरेका छन् । विभिन्न पार्टीका उम्मेदवारहरू चुनावी प्रचारका लागि घरदैलो आएको मौकामा मतदाताले यस्तो माग गरेका हुन् । 

हिउँद र बर्सातको समयमा पनि सिद्धबाबा क्षेत्रको सडकमा यात्रा गर्ने मानिसले ज्यान गुमाएको भन्दै यहाँका मतदाताले उम्मेदवारलाई सिद्धबाबा सडक बन्न नसकेको गुनासो गरेका छन् । ठूला र साना दलका उम्मेदवारलाई मात्र नभई स्वतन्त्र उम्मेदवारलाई समेत सडकको विषयमा गुनासो राख्ने गरेका छन् । 

विगत दस वर्षदेखि सिद्धबाबा सडक सुधारको माग उठ्ने गरेको छ तर पनि सडक सुधार हुन नसकेको मतदाताको बुझाइ छ । 

“हामीले सिद्धबाबा सडक निर्माणका लागि धेरै वर्ष कुरा उठायौँ,” तानसेन भगवतीटोलका स्थानीय बासिन्दा भूगोलप्रसाद बैँजूले भन्नुभयो, “यो सडक सुधार भएको अवस्थामा मात्रै पाल्पाको समग्र विकास हुनेछ ।” 

पाल्पाका मतदाताले तत्कालका लागि पाल्पाको सबैभन्दा मुख्य समस्याका रूपमा सिद्धबाबा सडक क्षेत्रलाई मानेका छन् । मतदाताले उम्मेदवारसँग सिद्धबाबामा खस्ने पहिरोको विकल्प दिन उम्मेदवारसँग गुनासो राख्ने गरेका छन् ।

सिद्धबाबा सडकखण्डको विकल्पमा अर्को सडक बनाउने वा सुरुङ मार्ग बनाउने भन्ने विषय उठेको धेरै भए पनि अहिलेसम्म ठोस काम हुन नसकेको रैनादेवी छहरा–५, मुझुङका युवा रामबहादुर बमरेलले बताउनुभयो । 

“नेताहरूले सिद्धबाबा सडकमा सुरुङ मार्ग बनाउँछौँ भनेको धेरै वर्ष भयो,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म बनाउन/नबनाउने टुङ्गो लागेको छैन ।” 

सिद्धबाबा सडकखण्ड सबैभन्दा जोखिमपूर्ण सडकका रूपमा रहेको र त्यस स्थानमा पहिरो तथा ढुङ्गा खसेर यात्रुको ज्यान जाने गरेको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताउनुभयो । 

सडक डिभिजन कार्यालय पाल्पाले भने सिद्धबाबा सडकको विकल्पका रूपमा सुरुङ मार्गको डीपीआर तयार भएर निर्माणका लागि टेन्डर भएको जनाएको छ । 

सिद्धबाबा सडकका लागि गत वर्ष नै सरकारले १० अर्ब १३ करोड बजेट विनियोजन गरेको छ । सडक डिभिजन कार्यालयले सिद्धबाबा सडक निर्माणको जिम्मा चिनियाँ ठेकेदारले पाइसकेकाले अब तत्कालै काम सुरु हुने जनाएको छ ।