• १३ साउन २०८१, आइतबार

मतदातालाई छाक टार्ने चिन्ता

blog

रजनी योगी 

सुर्खेत, कात्तिक २५ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल तथा उम्मेदवार समृद्धिका आश्वासन बाँडेर जनतासँग मत माग्न घरदैलो गरिरहेका छन्। गाउँटोलमा चुनावी रौनक बढेको छ। तर वीरेन्द्रनगर –११ झुप्रामा रहेको शान्तिपुर बस्तीमा भने चुनावी रौकनभन्दा पनि बिहान साँझ कसरी छाक टार्ने भन्ने पिरलो छ। 

सोही बस्तीका ६२ वर्षीय गगने बादीले नेतालाई चुनाव लागे पनि आफूलाई चुनावी रौनकले नछोएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीलाई केको चुनाव लाग्नु, नेताहरू भोट माग्न मात्रै आउँछन्, हाम्रा दुःख कहिल्यै देख्दैनन्।”

गगने बादी शारीरिक रूपमा अशक्त हुनुहुन्छ। ज्यालामजदुरी गर्नसक्ने अवस्था नभएकाले गुजारा चलाउनै मुस्किल भएको उहाँले बताउनुभयो। अहिले चुनाव आएकाले फाटफुट नेताहरू मतदाता रिझाउन यो बस्तीमा जान थालेका छन्। आश्वासन मात्रै बाँड्ने भएकाले नेताहरूको विश्वास लाग्नै छोडेको त्यहाँका बासिन्दा बताउँछन्। चुनाव आउँदा घरदैलोमै पुगेर समस्या सोध्ने नेताहरू जितेपछि पाँच वर्ष फर्केर नआउने गरेको उनीहरूको गुनासो छ।

शान्तिपुरकै गोल्मा बादी नेताका आश्वासन देखेर दिक्क भइसकेको बताउनुहुन्छ। विपन्न यो बस्तीका बासिन्दासँग लालपुर्जा छैन। बस्तीमा खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या पनि उस्तै छन्। खोला किनारको शान्तिपुरमा अभाव र गरिबीले पिरोलेको बीमा बादीले बताउनुभयो। 

खोलाबाट गिटी, बालुवा निकालेर दैनिकी गुजार्दै आइरहनु भएकी उहाँले तीन/चार महिनादेखि ज्याला मजदुरीको काम पनि नपाएको  बताउनुभयो। हरेक चुनावताका नेताले शान्तिपुरका बासिन्दालाई लालपुर्जा दिलाउने आश्वासन दिए पनि पूरा भएको छैन। ऐलानी जग्गामा बस्दै आएका त्यहाँका नागरिकले वर्षौँको सङ्घर्षपछि बल्ल सेतो पुर्जा पाएका छन्। 

टोलमा पुग्दा नेताले विकास निर्माणका ठूला सपना देखाउने गरेको स्थानीयले बताए। नागरिकको स्वास्थ्य शिक्षासँग जोडिएका विषय ओझेलमा परेका छन्। बस्तीका हरि बादी २०४२ सालमा त्यहाँ बस्ती बस्न थाल्नुभएको हो। 

नेताले चुनावको समयमा सधैँ यो बस्तीलाई लालपुर्जा दिलाइदिने आश्वासन दिने गरेको उहाँले बताउनुभयो। जयबहादुर बादी उमेरले ६५ वर्षका हुनुभयो। उहाँले धेरै पटक निर्वाचनमा मत हाल्नुभएको छ।  वर्षौंदेखिको आफ्नो माग भनेको गाँस, बास र कपास रहेको उहाँले बताउनुभयो। नेता चुनाव जितिसकेपछि फर्केर नआउने गरेको उहाँको भनाइ छ।

यस बस्तीका बासिन्दाले आफूले इच्छाएको व्यक्तिलाई समेत मत हाल्दैन। स्थानीय बिजुली बादीले पनि नेताको जोडबलमा धेरै पटक इच्छाएको व्यक्तिभन्दा फरक व्यक्तिलाई मत दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “बस्तीको टोली प्रमुखले जेमा भन्यो त्यहीमा मत दिइरहेका छौँ। जुनसुकै व्यक्तिलाई जिताए पनि आफ्नो जीवन फेरिएको छैन।” 

राजनीतिक दलले निर्वाचनका बेला मात्रै नागरिकका समस्यालाई जोडतोडसाथ चुनावी एजेन्डा बनाउने गरेको आरोप त्यहाँको बस्तीको छ। ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आइरहेका उनीहरू अहिले स्थानीय नदीको गिटी बालुवाको कामबाट समेत वञ्चित भइरहेका छन्। यहाँका नागरिकलाई ठुल्ठूला विकास निर्माण चाहिएको छैन। गाँस, बास र कपासको खोजीमा बस्ती रहेको छ। शान्तिनगर झुप्रा बस्तीमा ८० घरधुरी छन्।