• ३० वैशाख २०८२, मङ्गलबार

हिउँ पन्छाएपछि लाप्चा सडक सुचारु

blog

न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाएपछिको अवस्था । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ३० गते । सिमकोट–लिमी–लाप्चा सडक सञ्चालनमा आएको छ । सडकमा जमेको हिउँ एक्साभेटरबाट पन्छाएर लामो समयपछि सो सडक सुचारु भएको हो । 

हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चाखण्डको न्यालु लेक खुलेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । उहाँका अनुसार बाक्लो हिमपातले अवरुद्ध भएको पाँच हजार मिटर उचाइमा रहेको न्यालुको सडक पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छाएपछि खुलेको हो । दुई दिन लगाएर पाँचदेखि छ फिट बाक्लो जमेको हिउँ एक्साभेटरले फालेको थियो । गत वैशाख १३ गते बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले न्यालु र नारा लेकमा जमेको हिउँ पन्छाउने निर्णय गरेको थियो । 

गत मङ्सिर पुस महिनामा परेको बाक्लो हिमपातले न्यालु लेक बन्द भएपछि लिमी–लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने पर्यटक र नाम्खा गाउँपालिका–६ का स्थानीयवासीलाई समस्या भएको वडाध्यक्ष तामाङले बताउनुभयो । हिउँ पन्छाएपछि अब नेपाली भूमि लाप्चाबाट चीनमा रहेको मानसरोवर कैलाशको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । वडा नं ६ को लिमीबाट गाउँपालिका केन्द्र र सदरमुकाममा सिमकोट आउजाउ गर्न पनि सहज भएको छ । यसअघि लिमीका स्थानीय पैदल हिँडेर हिल्साबाट नारा लेक भएर आउजाउ गर्दै आउने गर्दथे । अब यो सडक आगामी मङ्सिर महिनासम्म सडक सुचारु हुने छ ।